२०८३ कार्तिक १३, शुक्रवार

नेपाल-भारत सीमा सुरक्षा सहकार्य सुदृढ बनाउने सहमति, अवैध गतिविधि नियन्त्रणमा जोड

       
  • सीमापार अपराध, तस्करी र मानव बेचबिखन नियन्त्रणमा सूचना आदानप्रदान गरिने ।
  • दशगजा क्षेत्रको अतिक्रमण हटाउन संयुक्त प्रयास जारी राखिने ।
  • सीमा निगरानीमा आधुनिक प्रविधि, ड्रोन र स्क्यानर प्रयोग बढाइने ।

काठमाण्डू । नेपाल-भारत सीमा क्षेत्रमा हुने अवैध गतिविधि तथा सीमापार अपराध नियन्त्रण गर्न दुवै देशका सीमा सुरक्षा नेतृत्वबीच द्विपक्षीय सहकार्य सुदृढ बनाउने समझदारी भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल र भारतको सशस्त्र सीमा बलका प्रमुख सहभागी ‘नेपाल-भारत १०औँ समन्वय बैठक’मा अघिल्ला निर्णयको प्रगति समीक्षा गर्दै रणनीतिक, अपरेशनल तथा कार्यक्षेत्रका तहमा सहकार्य अभिवृद्धि गर्ने सहमति भएको हो ।

बैठकले दशगजा क्षेत्रको प्रभावकारी व्यवस्थापनका लागि अनधिकृत खेतीपाती, अतिक्रमण र अवैध संरचना हटाउन निरन्तर संयुक्त प्रयास गर्ने निर्णय गरेको छ । यस्तै, ‘बाउन्ड्री वर्किङ ग्रुप’ र ‘सर्भे अफिसियल्स कमिटी’का निर्णयअनुसार सीमास्तम्भको नियमित मर्मत, सम्भार तथा पुनर्निर्माणका लागि स्थलगत समन्वय बढाउन दुवै पक्ष सहमत भएका छन् । सशस्त्र प्रहरीका प्रवक्ता नेत्रबहादुर कार्कीले यसबारे जानकारी दिनुभयो ।

सीमापार आपराधिक सञ्जाल, अवैध तस्करी, मानव बेचबिखन, नक्कली नोट र लागूपदार्थ नियन्त्रण तथा तेस्रो मुलुकका नागरिकको अनधिकृत आवतजावत रोक्न समयमै सूचना आदानप्रदान गर्ने प्रतिबद्धता पनि दुवै पक्षले व्यक्त गरेका छन् ।

खुला सीमाको दुरुपयोग गरी तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश रोक्न सीमा नाकामा जाँच र कागजात प्रमाणीकरण कडा बनाउने सहमति भएको छ । दशगजा क्षेत्रमा समन्वयात्मक गस्ती सञ्चालन गर्ने र शङ्कास्पद व्यक्तिबारे तत्काल सूचना आदानप्रदान गर्ने निर्णय पनि बैठकले गरेको छ ।

सीमा सुरक्षा चुनौतीको सामना गर्न आधुनिक प्रविधि र विशेष तालिम सहयोग विस्तार गर्ने तथा दुवै सुरक्षा निकायबीच नियमित अध्ययन भ्रमणमार्फत संस्थागत सम्बन्ध प्रगाढ बनाउने निर्णय गरिएको छ ।

दशगजा क्षेत्रको निगरानीका लागि सिसीटिभी, प्रमुख सीमा नाकामा ‘लगेज स्क्यानर’ र ‘वाक-थ्रु मेटल डिटेक्टर’ राख्ने तथा आ-आफ्नो भूभागमा ड्रोनको प्रयोग बढाउने विषयमा पनि गहन छलफल भएको प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।

बाढी, पहिरो र भूकम्पजस्ता प्राकृतिक विपद्को सामना गर्न चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयमा संयुक्त जलउद्धार अभ्यास सञ्चालन गर्ने विषयमा समेत छलफल भएको छ ।

वैधानिक यात्रुको सहजताका लागि सीमा नाकामा सहायता कक्ष विस्तार गर्ने सहमति पनि भएको छ । मैत्रीपूर्ण खेलकुद तथा विभिन्न अन्तरराष्ट्रिय दिवस र प्रमुख चाडपर्वमा संयुक्त सांस्कृतिक कार्यक्रम आयोजना गरी द्विपक्षीय विश्वास र सौहार्दता अभिवृद्धि गर्ने निर्णयसमेत गरिएको छ ।

राजधानीमा दुई दिनसम्म चलेको बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेल र भारतीय प्रतिनिधिमण्डलको नेतृत्व सशस्त्र सीमा बलका महानिर्देशक सञ्जय सिङ्घलले गर्नुभएको थियो ।

सन् २०१२ देखि पालैपालो दुवै देशमा समन्वय बैठक आयोजना हुँदै आएका छन् । आगामी बैठक भारतमा हुनेछ ।

बैठकमा नेपाल-भारत सीमा क्षेत्रको समग्र सुरक्षा स्थिति शान्तिपूर्ण कायम राख्न सशस्त्र प्रहरी बल र सशस्त्र सीमा बलका इकाइले प्रदर्शन गरेको उच्च व्यावसायिकता र सहकार्यको सराहना गरिएको थियो । रासस

Facebook Comments