युक्रेनको हवाई क्षेत्र नियन्त्रणमा लिन रुस असफल, ८४७ जना सर्वसाधारण मारिए
काठमाण्डौं, २०७८ चैत ६ गते आईतबार । तीन सातादेखि आफ्नो देशलाई रुसले गरिरहेको भिषण आक्रमणको विरुद्धमा युक्रेनका नागरिकहरु वहादुरीसाथ लडिरहेका छन् ।
बेलायतको रक्षा मन्त्रालयले रुसले “युक्रेनको हवाई क्षेत्रमाथि नियन्त्रण गर्न असफल भएको” र रुसी हवाई क्षेत्रबाट प्रक्षेपण गरिएका अस्त्रहरूमा भर परिरहेको बताएको छ।
युक्रेनको हवाई क्षेत्रलाई कब्जा गर्नु मस्कोको प्रमुख उद्देश्यमध्ये एक भएको बेलायती रक्षा मन्त्रालयको दाबी छ।
“द्वन्द्वको सुरुवाती दिनमा युक्रेनको हवाई क्षेत्र आफ्नो नियन्त्रणमा ल्याउनु रुसको प्रमुख उद्देश्यमध्ये एक थियो। तर निरन्तर प्रयासपश्चात् पनि त्यसो गर्न असफल हुनुले रुसी पक्षको प्रगतिलाई धुमिल बनाएको छ,” मन्त्रालयले जनाएको छ।
यद्यपि माइकोलाइभमा रुसी हवाई हमलाहरू दिनभर भइरहेको विवरणहरू सार्वजनिक भएका छन्। त्यहाँ करिब २०० सैनिकहरू बसिरहेको बताइन्छ।
सडकहरूमा जारी झडपका कारण मारिओपोलस्थित एक नाटकघरको भग्नावशेषमा फसेका मानिसहरूको उद्धार प्रभावित भएको जनाइएको छ। बुधवार रुसले उक्त नाटकघरमा बम आक्रमण गरेको थियो। त्यहाँ अझै पनि सयौँ मानिसहरूले आश्रय लिइरहेका बताइएको छ। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले त्यहाँको भूमिगत तलामा १,३०० जना जति रहेको बताएका थिए।
तर झडपका कारण उद्धारकर्ताहरूलाई त्यहाँ पुग्न वाधा भइरहेको मारिओपोलका नगरप्रमुखले बीबीसीलाई बताएका हुन्। नगरप्रमुखका अनुसार रुसी सेनाले त्यस दक्षिणी बन्दरगाह सहरलाई घेरेका छन् र निरन्तर गोलाबारी भइरहेको छ। उनले त्यहाँका हजारौँ बासिन्दालाई रुस पठाइएको जानकारी दिए। बीबीसी