Mon. Dec 23rd, 2024

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भिडियो वार्ता

काठमाण्डौं, २०७८ चैत ६ गते आईतबार । चीनका राष्ट्राध्यक्ष सी चिनफिङले १८ तारिख राति अमेरिकाका राष्ट्रपति जो बाइडेनसँग भिडियोमार्फत वार्ता गर्नुभएको छ। दुई जना राष्ट्रानायकले चीन-अमेरिका सम्बन्ध र युक्रेन परिस्थिति लगायत साझा अभिरूचिका विषयबारे खुला तथा गहिरो रूपमा वैचारिक आदान प्रदान गर्नुभएको छ।

बाइडेनले अमेरिकाले चीनसँग नयाँ शीत युद्ध गर्न नचाहेको बताउँदै चीनको व्यवस्थाको परिवर्तन गर्न नखोज्ने र गठबन्धनलाई बढाएर चीनको विरोध गर्न नचाहेको बताउनुभयो। थाइवान स्वतन्त्रताको समर्थन नगर्ने भन्दै चीनसँग द्वन्द्व गर्ने मनसाय समेत नभएको व्यक्त गर्नुभयो। अमेरिकाले चीनसँग खुला वार्ता गरी सहयोगलाई बढाएर एक चीनको नीतिमा अडिग सही अमेरिका-चीन सम्बन्धको स्थिर विकासलाई प्रवर्द्धन गर्ने इच्छा लिएको पनि उहाँले बताउनुभयो। आफूले राष्ट्राध्यक्ष सीसँग घनिष्ठ सम्पर्क राखेर अमेरिका-चीन सम्बन्धलाई दिशानिर्देश गर्ने इच्छा लिएको बाइडेनले उल्लेख गर्नुभयो।

प्रत्युत्तरमा राष्ट्राध्यक्ष सी चिनफिङले राष्ट्रपति बाइडेनको कथनमा आफूले निकै उच्च ध्यान दिएको उल्लेख गर्नुभयो। सीले हाल चीन-अमेरिका सम्बन्ध गत अमेरिकी सरकारबाट स्थापित कठिनाइँबाट बाहिरीइनसकेको र झनै बढी चुनौती देखिएको भन्दै केही अमेरिकीहरूले दुई राष्ट्रप्रमुखबीच सम्पन्न भएका महत्वपूर्ण सहमति र राष्ट्रपति बाइडेनको सक्रिय कथनको पालना नगरेकोले चीन-अमेरिका सम्बन्ध वर्तमान अवस्था देखापरेको तथा अमेरिकाले चीनको रणनीतिबारे गलत बुझाइ र निर्णय लिएको टिप्पणी गर्नुभयो। पहिलादेखि वर्तमानसम्म नै चीन र अमेरिकाबीच मतभेद भइरहेको छ भने भविष्यमा पनि हुनेछ तापनि मतभेदको राम्रोसित नियन्त्रण गर्नुपर्ने कुरामा पनि सी चिनफिङले जोड दिनुभयो।

भिडियो वार्ताका क्रममा दुई पक्षले युक्रेनको पछिल्लो परिस्थितिबारे पनि वैचारिक आदान प्रदान गरेका छन्। बाइडेनले अमेरिकाको स्थितिबारे जानकारी दिनुका साथै चीनसँग सम्पर्क गरी स्थिति गम्भीर हुनबाट रोक्ने इच्छा लिएको व्यक्त गर्नुभयो।

त्यस्ते सी चिनफिङले भने युद्धको विरोध नै चीनको अडान भइरहेको उल्लेख गर्नुभयो। उहाँले चीनले युक्रेन मानवीय अवस्थासम्बन्धी छ वटा प्रस्ताव प्रस्तुत गरिसकेको भन्दै विभिन्न पक्षले रूस-युक्रेन वार्ताको समर्थन गर्नुपर्ने दोहोर्याउनुभयो। अमेरिका र नेटोले पनि रूससँग वार्ता गरी सुरक्षासम्बन्धी रूस र युक्रेनको चिन्तालाई हटाउनुपर्ने पनि सीले बताउनुभयो। सीआरआई

Facebook Comments