Sun. Jan 12th, 2025 06:18:52

सरकारले महिला भलिबल खेलाडीलाई जनही पाँच लाख दिने

काठमाण्डौं, २०७८ पुस १४ गते बुधबार । सरकारले महिला भलिबल खेलाडीलाई जनही पाँच लाख रुपैयाँ दिने घोषणा गरेको छ । बंगलादेशको राजधानी ढाकामा मंगलबार सम्पन्न एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कप अन्तर्गत महिलातर्फ च्याम्पियन नेपाली टोलीका खेलाडीलाई सरकारले जनही पाँच लाख रुपैयाँ पुरस्कार दिने भएको हो ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले टोलीका १२ जना खेलाडीलाई जनही पाँच लाख, दुई जना प्रशिक्षकलाई तीन तीन लाख र अफिसियललाई दुई लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरिएको युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले जानकारी दिनुभयो । ‘महिला भलिबल खेलाडीले लगातार दोस्रो पटक उपाधि हासिल गरी राष्ट्रको प्रतिष्ठा बढाएकोले सरकारले नगद पुरस्कारबाट सम्मान गर्न लागेको हो,’ मन्त्री गहतराजले भन्नुभयो ।

नेपालले मंगलबार भएको फाइनलमा उज्वेकिस्तानलाई ३-२ को सेटमा हराउँदै उपाधि जितेको थियो । नेपाल लगातार दोस्रो पटक च्याम्पियन बनेको हो ।

Facebook Comments