Mon. May 20th, 2024

देशका विभिन्न भागमा बाक्लो हिमपात, जनजीवन कष्टकर

काठमाण्डौं, २०७८ पुस १४ गते बुधबार ।  देशका विभिन्न भागमा गए रातीदेखि परेको बाक्लो हिमपात र वर्षादका कारण जनजीवन कष्टकर भएको छ ।

काठमाण्डौ उपत्यकाको फूलचोकी, शिवपुरी, चन्द्रागिरी लगायतका क्षेत्रमा बाक्लो हिमपात भएको छ । गएरातीदेखि उपत्यकामा पर्न थालेको पानी अहिले पनि रोकिएको छैन । हिमपात र वर्षाका कारण चिसो बढेकोले आज काठमाण्डौ उपत्यकामा विगतमा भन्दा कम मात्रामा सवारी साधनहरु सञ्चालन भएका छन् भने मानिसहरुको आवतजावतमा पनि कमी आएको छ । उपत्यकाका विभिन्न क्षेत्रमा आज विद्युत आपूर्ति पटक पटक बन्द हुँदा सर्वसाधारणले सास्ती खेप्नु परेको छ ।

हिमपात भएपछि सोलुखुम्बुका दुवै विमानस्थलमा बुधबारका लागि हुने हवाई उडान पूर्ण रुपमा अवरुद्ध भएका छन् । सोलुखुम्बुको व्यस्त पर्यटकीय तेन्जिङ हिलारी विमानस्थल लुक्ला र फाप्लु विमानस्थलमा सबै उडान अवरुद्ध भएका हुन् ।

तेन्जिङ हिलारी विमानस्थल लुक्लाका लागि तय भएका नेपाल समिट एयरका तीन उडान र तारा एयरलाइन्सका तीन वटा उडान अवरुद्ध भएको नेपाल नागरिक उडड्यन कार्यालय लुक्लाका प्रमुख द्वारिका अछामी नेपालीले जानकारी दिनुभयो । उहाँका अनुसार विमानस्थलमा एक फिट अग्लो हिउँ जमेको छ ।

उपत्यका बाहिरका विभिन्न जिल्लाहरुमा पनि बाक्लो हिमपात भएको छ । सङ्खुवासभा जिल्लाको किमाथाङ्का नाका क्षेत्रमा बाक्लो हिमपात परेपछी जनजीवन कष्टकर बनेको छ । शुक्रबार साँझदेखि हिमपात सुरु भएपछि जनजीवन कष्टकर बनेको हो । हिमपातका कारण पशु चौपायमा बढी असर पुगेको स्थानीयको भनाई छ । नागरिकहरु घर बाहिर निस्कन सकेका छैनन् । बाँधिएका पशु चौपायालाई घाँस, पानी दिन नसकिएको किमाथाङ्काकाका थुजुक भोटेले जानकारी दिनुभयो ।
किमाथाङ्का क्षेत्रमा तीन फिटसम्म हिउँ जमेको किमाथाङ्का प्रहरी चौकीले जनाएको छ ।

निरन्तर हिमपात भैरहेको कारण हिमाली जिल्ला मनाङमा एकजना सम्पर्क बिहीन भएका छन्। गोठबाट घर फर्किने क्रममा नासो गाउँपालिका ४ वडारगाउँका ५५ वर्षीय आच्यो गुरुङ सम्पर्कबिहिन हुनुभएको प्रहरीले जनाएको छ ।

उहाँसँगै ३ जना गाउँमाथिको लुम्रुचोक भन्ने स्थानमा रहेको भेडिगोठ गएका थिए । बुधबार बिहान १० बजेतिर गोठ गएका उनीहरु फर्कने क्रममा दिउँसो १ बजेबाट गुरुङ बेपत्ता भएको मनाङमा प्रहरी नायब उपरीक्षक सुवास खड्काले जानकारी दिनुभयो ।

हिमपातका कारण सोलुखुम्बुको जनजीवन प्रभावित बनेको छ । मङ्गलबार रातिदेखि लगातार हिमापात भएपछि चिसो बढ्दा स्थानीय बासिन्दाको जनजीवन कष्टकर बनेको छ । हिमपातले चौपाया समेत प्रभावित भएका हुन् । खुम्बुक्षेत्रमा करिब एक फिट बढी हिमपात भइरहेको छ भने सदरमुकाम आसपासका क्षेत्रमा समेत हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ ।

यसैगरी गोरखामा पनि भारी हिमपात भएको छ । मंगलबार रातिदेखि हिमपात सुरु भएको स्थानीयले बताएका छन् । चुमनुब्री गाउँपालिकाका अधिकाशं ठाउँमा हिमपात भएको उपाध्यक्ष कुमारी गुरुङले जानकारी दिनुभयो । ‘हिउँले चुमनुब्री पुरै ढाकेको छ,’ उहाँले भन्नुभयो, ‘हिउँ परेपछि स्थानीय समस्यामा परेका छन् ।’

गाउँपालिकाको सामागाउँ, छेकम्पार, चुम्चेत, ल्हो, प्रोक, सिद्धिबास, बिहीलगायत सबै गाउँमा हिमपात भएको उहाँले बताउनुभयो । भारी हिमपात भएपछि भेडा, च्याङ्गा, चौरी, खच्चड एवं घोडा पालक कृषक मर्कामा परेका छन् ।

हिमपातले उनीहरुलाई घाँसपात गर्न समस्या भएको छ । धारामा पानी जम्दा पिउने पानीको समस्या भएको छ । गुल्मीको रेसुंगा, ताप्लेजुङको सुकेटार, पाथिभरा, इलामको सन्दकपुर, दोलखाको कालिञ्चोक लगायतका क्षेत्रमा पनि बाक्लो हिमपात भएको छ । फोटो साभार : सामाजिक सञ्जाल

Facebook Comments