२०८३ भाद्र १३, शनिवार

इक्वेडरका पूर्वराष्ट्रपति लेनिन मोरेनोलाई भ्रष्टाचारको आरोपमा पाँच वर्षको जेल सजाय   

इक्वेडरका पूर्व राष्ट्रपति लेनिन मोरेनो, जसलाई देशको एक जलविद्युत प्लान्टको निर्माणको सम्बन्धमा चिनियाँ कम्पनी सिनोहाइड्रोबाट घुस लिएको आरोप लगाइएको छ, शुक्रबार, अगस्ट २८, २०२६ मा इक्वेडरको क्विटोस्थित राष्ट्रिय न्याय अदालतमा सुनुवाइमा उपस्थित हुँदै। (एपी फोटो/डोलोरेस ओचोआ)

       

क्विटो । जलविद्युत् आयोजना निर्माणको ठेक्का दिलाउन सहयोग गरेबापत चिनियाँ कम्पनीबाट घुस लिएको अभियोगमा दोषी ठहर भएपछि इक्वेडरका पूर्वराष्ट्रपति लेनिन मोरेनोलाई शुक्रबार पाँच वर्षको जेल सजाय सुनाइएको छ ।

त्रिहत्तर वर्षीय मोरेनो शारीरिक रूपमा अशक्त भएकाले हिँडडुल गर्न कठिनाइ हुने भन्दै अदालतले उहाँलाई घरमै नजरबन्दमा राखेर सजाय भोग्न आदेश दिएको छ ।

मोरेनोलाई राफेल कोरियाको नेतृत्वमा उपराष्ट्रपति रहेका बेला भएको घुसखोरी योजनामा प्रत्यक्ष सङ्लग्न भएको ठहर गरिएको हो । उहाँकी श्रीमती र छोरीसहित दुई भाइ तथा एक भिनाजुलाई पनि योजनामा सहयोग गरेको अभियोगमा दोषी ठहर गरिएको छ । श्रीमती र छोरीलाई जनही ३० महिनाको जेल सजाय सुनाइएको छ ।

अदालतले दोषी ठहर गरिएका सबैलाई गैरकानुनी रूपमा प्राप्त रकमको तीन गुणा बराबर रकम ९० दिनभित्र फिर्ता गर्न आदेश दिएको छ ।

मोरेनो भ्रष्टाचार मुद्दामा जेल सजाय पाउने इक्वेडरका तेस्रो पूर्वराष्ट्रपति बन्नुभएको छ । अभियोजकहरूका अनुसार सन् २००८ देखि २०१८ सम्म सञ्चालन भएको भ्रष्टाचार सञ्जालले चिनियाँ कम्पनी सिनोहाइड्रोले निर्माण गरेको परियोजनाको कूल मूल्यको चार प्रतिशत बराबर रकम घुसका रूपमा उठाएको थियो । उक्त रकम स्वदेश तथा विदेशमा भएका विभिन्न कारोबारमार्फत सरकारी अधिकारी र मोरेनोसहितका लाभग्राहीलाई वितरण गरिएको थियो ।

सिनोहाइड्रोले सन् २०१० मा करिब दुई अर्ब अमेरिकी डलरको कोका कोडो सिन्क्लेयर जलविद्युत् आयोजना निर्माण सुरु गरी २०१६ मा इक्वेडर सरकारलाई हस्तान्तरण गरेको थियो । संरचनागत कमजोरीका कारण उक्त आयोजना विवादमा परेको थियो ।

मोरेनो सन् २००७ मा कोरियाको नेतृत्वमा उपराष्ट्रपति बनेपछि राष्ट्रिय राजनीतिमा चर्चित हुनुभएको थियो । उहाँले २०१३ सम्म उपराष्ट्रपतिको जिम्मेवारी सम्हाल्नुभयो ।

सन् २०१७ मा मोरेनोले कोरियासँग सम्बन्धित ‘कोरेइस्टा’ आन्दोलनका उम्मेदवारका रूपमा राष्ट्रपतिको निर्वाचन जित्नुभएको थियो । उहाँका उपराष्ट्रपति जर्ज ग्लासले पछि पदबाट राजीनामा दिनुभएको थियो र हाल भ्रष्टाचार मुद्दामा जेल सजाय भोगिरहनुभएको छ । एपी

Facebook Comments