Sun. Nov 24th, 2024

पत्रकार चेतनाथ आचार्यको ‘रुइबा’ उपन्यास बजारमा

काठमाण्डौं, २०७८ कात्तिक १३ गते शनिबार । नेपाली साहित्य क्षेत्रमा पत्रकारहरुले पनि हिँजोआज सक्रियतापूर्वक कलम चलाउन थालेका छन्। लेखन पेशामै लागिरहेका पत्रकारहरु बीचमा पछिल्लो समय आख्यान र गैरआख्यानका कृति प्रकाशनमा प्रतिस्पर्धा जस्तै चलेको छ। यही मेसोमा चिनियाँ अन्तर्राष्ट्रिय रेडियो सीआरआई नेपाली सेवामा कार्यरत पत्रकार चेतनाथ आचार्य पनि उपन्यास लिएर नेपाली साहित्यको बजारमा देखिनु भएको छ । बडादशैँको अवसरमा आचार्यको उपन्यास “रुइबा” फिनिक्स बुक्सले प्रकाशन गरेको हो।

नेपाली साहित्यिक बजारमा रुइबाले फरक स्वाद दिएको छ। नेपाली परिवेश र चिनियाँ परिवेशलाई यो उपन्यासले सँगसँगै प्रस्तुत गरेको छ। धादिङ जिल्लाको तामाङ समाजबाट सुरु भएको उपन्यास विभिन्न घुम्ती पार गर्दै चीनमा पुगेको छ। उपन्यासले तामाङ संस्कृति र चालचलनलाई निकै गहन ढङ्गले प्रस्तुत गरेको छ।

तामाङ संस्कृतिलाई केन्द्रमा राखेर सिर्जना गरिएकाले उपनयासको नाम ‘रुइबा’ राखिएको आचार्य बताउनु हुन्छ । धेरै नेपाली पाठकलाई ‘रुइबा’ शब्दको अर्थ थाहा नभएकाले यो चिनियाँ शब्द हो कि भन्ठान्छन्। आचार्य चीनको राजधानी पैचिंगमा बसेर पत्रकारिता गरिरहेको र पैचिंगमै बसेर उपन्यास लेखेकाले उपन्यासको नाम चिनियाँ भन्ठान्नु स्वाभाविक पनि हो। ‘रुइबा’ चिनियाँ शब्द नभएर तामाङ भाषाको शब्द हो।

तामाङ जातिको मृत्यु संस्कारमा पछ्याइने एउटा परम्परागत चलन हो ‘रुइबा’। हिजोआज तामाङ जातिमै लोप हुँदै गएको यो चलनलाई आफूले उपन्यासमा उतारेको आचार्यले बताउनु भयो । उपन्यासले नेपाली ग्रामिण क्षेत्रको सामाजिक तथा आर्थिक पाटोलाई बोकेको र युवाहरु खाडी क्षेत्र तथा मलेसियामा पठाउने दलाली पेशाले गाउँलाई खोक्रो बनाएको विषयबाट उपन्यास सुरु भएको उहाँले औल्याउनु भयो ।

तामाङ मातृसत्ता प्रणाली अपनाउने जाति हो। तामाङ जातिमा छोरीलाई बिहे गरेर दिँदा माइति पक्षले बाउको थर र हाड दिँदैनन्। बिहे गरेकी चेलीको मृत्यु भएपछि माइतिले अस्तुको रुपमा चेलीको हड्डी ल्याएर सेलाउने चलन छ। यही संस्कृतिलाई व्यक्त गर्ने शब्द हो ‘रुइबा’। तामाङ भाषामा हड्डीलाई रुइ भनिन्छ। अनि लाश जलाएपछि लिइने अस्तुलाई चाहिँ रुइस्याल अथवा रुइबा भनिन्छ। उपन्यासले बोकेको सार यही भएको आचार्य बताउनु हुन्छ ।

काठमाडौँ वरिपरी निकै बाक्लो तामाङ जातिको बसोबास रहेको भए पनि तामाङ जातिलाई केन्द्रमा राखेर लेखिएका आख्यानका कृतिहरु निकै थोरै छन्। पूर्वी इलामको फिक्कलमा स्थायी बसोबास गर्ने आचार्यले पैचिंगमा बसेर लेखेको उपन्यासको पृष्ठभूमि चाहिँ धादिङ जिल्लाको उत्तरपश्चिम क्षेत्रका तामाङ जातिको चालचलनका बारेमा केन्द्रित छ।  आफूले उपन्यासको आधा भाग तामाङ संस्कृति र आधा भाग चिनियाँ संस्कृतिलाई विषय बनाएर लेखेको उल्लेख गर्दै आचार्यले भन्नुभयो ‘तामाङ संस्कृतिलाई आख्यानमा उतार्नका लागि निकै अध्ययन गर्नुपर्ने रहेछ। तामाङ संस्कृति अध्ययन गर्दै उपन्यास लेख्दा ७ वर्ष लाग्यो।’

काठमाडौँ वरिपरीको भूभाग तामाङ बस्ती भए पनि सिन्धुपाल्चोक र धादिङका तामाङमा फरक संस्कृति अँगाल्ने थाहा पाएपछि उपन्यास लेखनमा आफूलाई अझ कठिन भएको उहाँ सुनाउनु हुन्छ । ‘काठमाडौँ पूर्वका तामाङ र काठमाडौँ पश्चिममा तामाङका सांस्कृतिक गतिबिधिमा धेरै फरक रहेछ’ उपन्यास लेख्दाको अनुभवका आधारमा आचार्यले भन्नुभयो ‘धादिङका तामाङको संस्कृति अध्ययन गर्नका लागि काभ्रेका तामाङलाई सोधेर नहुने रहेछ। आकाश जमिनको फरक पर्ने भएपछि मलाई निकै समस्या भयो।’

‘रुइबा’ उपन्यासले नेपाली समाजमा व्याप्त गरिबी, भोकमरी, वैदेशिक रोजगार, शोषण, पीडा र आँशुलाई बोकेको छ। यथार्थवादी सामाजिक चित्रण गरिएको उपन्यासले धादिङ र काठमाडौँको जनजीवनलाई निकै आहतपूर्ण तरिकाले पाठकसामु राख्ने प्रयास गरेको आचार्य बताउनु हुन्छ ।

बिगत २५ वर्षदेखि पत्रकारिता पेशा अँगाल्दै आउनु भएका आचार्यको यो छैटौँ कृति हो भने साहित्यिक कृतिमा चाहिँ यो चौथो सिर्जना हो। उहाँका साहित्यिक कृतिहरुमा रित्तो कथाको तस्बिर (कथा सङ्ग्रह) २०६८, बुद्धको उपहार (कथा सङ्ग्रह) २०७१ र उपहार (कथा सङ्ग्रह) २०७५ प्रकाशित छन्। गैर आख्यानमा मेरा आँखामा चीन (समसामयिक लेख सङ्ग्रह) २०७२ र चीन चियाउँदा (संस्मरण) २०७४  प्रकाशित छन्।

Facebook Comments