जापानमा ७.१ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी जारी
टोकियो । दक्षिण-पश्चिम जापानमा मङ्गलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि जापान मौसम विज्ञान विभागले सुनामीको चेतावनी जारी गरेको छ ।
विभागका अनुसार भूकम्पको केन्द्र क्युशु टापु आसपास रहेको थियो । जापानको आफ्नै ‘शिन्डो’ मापन प्रणालीमा पनि बलियो कम्पन महसुस गरिएको छ । एक मिटरसम्म उचाइको सुनामी आउन सक्ने अनुमान गर्दै स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।
जापानी प्रसारक एनएचकेका अनुसार केही स्थानमा साना सुनामीका छाल देखिन थालेको हुन सक्ने अनुमान गरिएको छ । यद्यपि हालसम्म मानवीय क्षति वा ठूलो भौतिक क्षतिको आधिकारिक विवरण सार्वजनिक भएको छैन ।
प्रशान्त महासागरको ‘रिङ अफ फायर’ क्षेत्रमा पर्ने जापान विश्वकै सबैभन्दा बढी भूकम्प जाने देशमध्ये एक हो । यहाँ हरेक वर्ष सयौं भूकम्प जाने गर्छन् र विश्वभर हुने करिब १८ प्रतिशत भूकम्प यही क्षेत्रमा पर्ने वैज्ञानिकहरूको भनाइ छ ।
सन् २०११ मा जापानमा आएको ९.० म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि आएको सुनामीमा करिब १८ हजार ५०० जनाको ज्यान गएको थियो । त्यसयता जापानले भूकम्प र सुनामीसम्बन्धी पूर्वतयारी र चेतावनी प्रणालीलाई थप सुदृढ बनाउँदै आएको छ । एएफपी

