मृतक मेहताको परिवारलाई राहत र सहयोग गर्न राज्य प्रतिबद्ध
- मृतक मेहताका परिवारसँगको संवाद सकारात्मक, शव परीक्षणका लागि तयार
काठमाण्डू । जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा यही साउन १० गते राति भएको घटनामा घाइते हुनुभएका २२ वर्षीय रवीन्द्र मेहताको उपचारका क्रममा आज निधन भएकोप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
प्रशासनले सार्वजनिक अपिल जारी गर्दै काठमाडौँस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत मेहताको असामयिक निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।
उक्त घटनाबाट प्रभावित पक्षलाई परेको चोट तथा आहतलाई पूर्णरूपमा सम्बोधन गर्ने प्रतिबद्धता जनाउँदै मृतकका परिवारसँग गृहमन्त्री सुधन गुरुङले गर्नुभएको सम्झौता अनुरूप राहत र सहायता उपलब्ध गराउन राज्य प्रतिबद्ध रहेको प्रशासनले जनाएको छ । कार्यालयले यस शोकको घडीमा परिवेशलाई थप नबिथोली संयम र सहिष्णुता कायम गर्न र धैर्यता साथ रहन सम्बद्ध सबै पक्षमा हार्दिक अपिल गरेको छ ।
प्राप्त पछिल्लो समाचार अनुसार सरकार र मृतक रवीन्द्र मेहताका परिवारका सदस्यसँग भएको संवाद सकारात्मक भएको छ । गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा आज शिक्षण अस्पताल महारागजञ्मा भएको छलफलमा सरकारका तर्फबाट मृतकका परिवारले उठाएका माग सम्बोधन गर्न पूर्ण प्रतिबद्धता व्यक्त गरिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
गृहमन्त्रीले मृतकका आफन्तलाई घटनाप्रति दुःख व्यक्त गर्दै आवश्यक सहयोग तथा राहत उपलब्ध गराउन सरकार तयार रहेको आश्वासन दिनुभयो । वार्तामा सहभागी आफन्तले मृतकका बुबाआमासँग अहिले सल्लाह गरेपछि मात्रै भोलि थप छलफल गर्ने बताउनुभएको छ । उहाँहरूले अहिले मेहताका शव बुझेर परीक्षणका लागि शिक्षण अस्पतालमा पठाउन सहमति जनाउनुभएको छ ।
सरकार र परिवारबीचको संवाद सकारात्मक दिशामा अघि बढेको र भोलि पुनः छलफल गरी सहमतिलाई अन्तिम रूप दिने तयारी रहेको गृहमन्त्री गुरुङको सचिवालयले जनाएको छ ।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा यही साउन १० गते राति भएको घटनामा घाइते भएका २२ वर्षीय रवीन मेहताको आज त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
रासस

