Fri. Sep 20th, 2024

आज भव्य रुपमा फूलपाती भित्र्याइँदै

फायल फोटो

काठमाण्डौं, २०७८ असोज २६ गते मंगलबार ।  बडा दशैंको सातौं दिन आज असोज शुक्ल सप्तमीका दिन मङ्गलबार सनातन हिन्दु धर्मावलम्बीले घर–घरमा फूलपाती भित्र्याइँदै छ । केरा, दारिम, उखु र अदुवाको बोट, बेसार, बेलपत्र, अशोक र जयन्तीको फूल, असुरोको पातलाई नवपत्रिका मानेर फूलपाती भित्र्याउने प्रचलन छ ।

हनुमानढोका दरबारस्थित दशैँघरमा भित्र्याउने गरी धादिङको जीवनपुरबाट काठमाडौँको जमलमा फूलपाती ल्याउने टोली मङ्गलबार जीवनपुर गएको छ । नेपाली सेनाको शार्दूूलजङ्ग गुल्मका दुई जवान र हनुमानढोका दरबार हेरचाह अड्डाका चार जना जीवनपुर गएका छन् । विगतमा समरजङ्ग कम्पनीको टुकडी जीवनपुर जाने गरेकोमा कम्पनीको जिम्मेवारी शार्दूूलजङ्गमा सारिएकाले यसमा गुल्म सरिक हुन थालेको हनुमानढोका दरबार हेरचाह अड्डाका पर्वपूूजा संयोजक मीठाराम पुडासैनी बताउनुहुन्छ ।

गोरखाबाट मगर जातिले पैदलै जीवनपुर ल्याएको फूलपातीलाई जीवनपुरबाट जमल हुँदै हनुमानढोका दरबारस्थित दशैँघरमा भित्र्याउने प्रचलन छ । सरकारी अधिकारी र गुरु पुरोहितले आशागुर्जा कल्स्यौँडीसहित सिँगारिएको फूलपातीलाई जमलमा स्वागत गरेर दशैँघर भित्र्याउने तयारी भएको छ । दरबार हेरचाह अड्डा प्रमुख सन्दीप खनालका अनुसार दुर्लभ असुरोको पातसहितको यो यात्रा अति महत्वको छ ।

Facebook Comments