Fri. Sep 20th, 2024

फूलपाती बढाइँ समारोहमा राष्ट्रपति तथा प्रधानमन्त्री सरिक

काठमाण्डौं, २०७८ असोज २६ गते मंगलबार । नेपालीहरुको महान चाड बडादशैं अन्तर्गत आज फूलपाती बढाइँ समारोहमा राष्ट्रपति विद्यादेवी भणडारी तथा प्रधानमन्त्री शेर बहादुर देउवा सरिक हुनुभएको छ ।

नेपाली सेनाद्वारा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित फूलपाती बढाई विशेष समारोहमा सरिक भई उहाँहरुले फूलपाती बढाइँ अवलोकन गर्नुभएको हो। राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुनुहुन्छ ।

सो समारोहमा सैनिक हेलिकप्टरबाट पुष्पवृष्टि गरिनुका साथै राइफल र तोपबाट लहरे एवं एकठ्ठा बढाइँ गरियो । त्यस अवसरमा इज्जत अर्पण कवाज, विभिन्न गुल्मद्वारा बढाइँ, मार्चपाससहितको बढाइँ र सैनिक ब्याण्डबाट मालश्री र दुर्गा स्त्रोत्रका धुन प्रस्तुत भयो ।

उक्त समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर राणा, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना समेत सहभागी हुनुभएको थियो ।

यसैगरी सो समारोहमा मन्त्रिगण, सवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्च पदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख, समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित महानुुभाव समारोहमा उपस्थित हुनुहुन्थ्यो ।

तस्बिर : केशव गुरूङ

Facebook Comments