Tue. Apr 1st, 2025 11:16:31

अफगानिस्तानमा कठोर सजायहरू फेरि शुरू हुने तालिबान अधिकारीको चेतावनी

काठमाण्डौं, २०७८ असोज ८ गते शुक्रबार । तालिबानको धार्मिक प्रहरीका एक कुख्यात पूर्वप्रमुखले मृत्युदण्ड र शरीरका अङ्ग काट्नेजस्ता कठोर सजायहरू अफगानिस्तानमा पुनर्बहाली हुने चेतावनी दिएका छन्।

हाल कारागार प्रमुख रहेका मुल्लाह नुरूद्दीन तुराबीले अङ्ग काट्नेसम्बन्धी सजाय “सुरक्षाका लागि आवश्यक” भएको समाचारसंस्था एपीलाई बताएका हुन्।

तर त्यस्ता सजायहरूको कार्यान्वयन विगतमा जस्तो सार्वजनिक स्थलहरूमा नगरिने उनले बताए। सन् १९९० को दशकमा तालिबानले आफ्नो शासनकालमा त्यस्ता सजायहरू सार्वजनिक स्थलहरूमा दिने गरेका थिए।

यद्यपि विगतमा सार्वजनिक स्थलहरूमा दिने गरिएका मृत्युदण्डको आलोचना भएको कुरा तुराबीले खारेज गरे। उनले भने, “हाम्रो कानून कस्तो हुनुपर्छ भन्नेबारे अरूले भन्नु पर्दैन।”

गत अगस्ट १५ मा अफगानिस्तानमाथि नियन्त्रण कायम गरेयता तालिबानले विगतको भन्दा नरम शासन गरिने बताउँदै आएका छन्। तर देशभरि मानव अधिकार उल्लङ्घन भएका भनिएका थुप्रै घटनाहरू बाहिर आएका छन्।

हेरातमा प्रतिष्ठित महिलाहरू, घरबाहिर हिँडडुल गर्न पाउने स्वतन्त्रता पक्षधर र पोशाकसम्बन्धी नियम पालना गर्न अस्वीकार गर्ने महिलाहरूको खोजी गर्दै तालिबान लडाकुहरू हिँडेको पाइएको अधिकारवादी संस्था ह्युमन राइट्स वाचले बिहीवार जनाएको थियो।

काबुलमाथि तालिबानले नियन्त्रण कायम गर्नुभन्दा केही दिनअगाडि बाल्खमा तालिबानका एक न्यायाधीश हाजी बदरुद्दीनले इस्लामिक कानूनको कठोर व्याख्यालाई आफूले समर्थन गर्ने बीबीसी संवाददाता सेकन्दर कर्मानीलाई बताएका थिए।

विगतका कामका कारण संयुक्त राष्ट्रसङ्घले आर्थिक प्रतिबन्ध लगाएका व्यक्तिहरूको सूचीमा रहेका तुराबीले सार्वजनिक स्थलमा सजायहरू दिने वा नदिने विषयमा मन्त्रिपरिषद्‌मा छलफल भइरहेको र त्यसबारे नीति बनाइने बताए।

सन् १९९० को दशकमा काबुलका खेलकुद रङ्गशालाहरूमा अथवा इदगाहमा मृत्युदण्डका सजाय दिने गरिन्थ्यो। त्यस बेला तुराबी न्यायमन्त्रीका साथै सदाचार विस्तार तथा दुराचार नियन्त्रण मामिला प्रमुख थिए। बीबीसी

Facebook Comments