Wed. Apr 22nd, 2026

मर्म बुझौँ

- पवित्रा दाहाल

       

                                                                   काठमाण्डौं, २०७८ असोज ८ गते शुक्रबार ।

✍️ पवित्रा दाहाल

नेपाली हौँ तनमन सबै राष्ट्रकै काखमा छन्
नेपालीका अटल गरिमा माथ सर्वोच्चो नै छन्
डाँडा काँडा रनवन सबै स्वस्थ हाँसो हँसाऊँ
मान्छेभित्रै झलमल हुने दीप नौलो जगाऊँ ।।

हाम्रा गाढा धुमिल मनको दाग सारा हटाई
सङ्ला खोला सरह मन यी शुद्ध चोखा बनाई
तीतो बोली मनुज मनमा मन्थरा हो बिगार्ने
मीठो बोली मधुरस अहो एकताले सपार्ने ।।

छोडी द्वेषी जनमन मिले विश्वमा शान्ति हुन्छ
हामी फुट्दा सजन जन हो राष्ट्र बेसाँध हुन्छ
हाम्रा साझा जल र थलमा मर्म पारी गएमा
सिङ्गो राष्ट्रै धरमर भई जान्छ गल्दै कसैमा ।।

भाषा भिन्नै जगतभरका मर्म साझा रहन्छन्
ठूलो सानो नभन जन हो धर्म सेवा कहन्छन्
कष्टै पर्दा गहभर हरे अश्रु एकै बहन्छन्
हाँसो हाँस्ने तवरतरिका धर्म जे होस् उही छन् ।।

कान्छो पेसा पनि बखतमा काम लाग्ने कुरा हो
तल्लो माथ्लो नभन न सखी मर्म हाम्रो उही हो
मान्छेका यी अबरभरमा होस सेवा भनेर
रोजे आफ्ना तन र मनले गर्छु कर्मै भनेर ।।

Facebook Comments