Fri. Sep 20th, 2024

बढी पहिरो पिडीतको झन्डै दुई अर्बको बीमा माग दाबी

काठमाडौं, २०७८ असार २५ गते शुक्रबार । विभिन्न निर्जीवन बीमा कम्पनीमा एक अर्ब ९२ करोड तीन लाख रुपियाँभन्दा बढीको बीमा माग दाबी भएको छ । हालै आएको अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढी र पहिरोबाट भएको भौतिक क्षतिबापत निर्जीवन बीमा कम्पनीहरूमा उक्त रकमको बीमा माग दाबी गरिएको हो ।

गत बुधबारसम्म विभिन्न २० निर्जीवन बीमा कम्पनीमा सम्पत्ति बीमा, मोटर बीमा, कृषि तथा पशुपन्छी बीमा, इन्जिनियरिङ बीमा र विविध बीमा शीर्षकअन्तर्गत ३३१ वटा बीमा माग दाबी गरिएको बीमा समितिले जनाएको छ ।

समितिका अनुसार कुल बीमा माग दाबीमध्ये १४१ वटा सम्पत्ति बीमा माग दाबी रहेका छन् । यसका लागि जम्मा ६९ करोड ३६ लाख ४६ हजार रुपियाँको माग दाबी गरिएको छ । ३३ वटा मोटर बीमाका लागि चार करोड ४५ लाख ८७ हजार रुपियाँ, पाँचवटा सामुद्रिक बीमाका लागि १९ लाख ८१ हजार रुपियाँको माग दाबी परेको छ ।

त्यस्तै छवटा कृषि बीमाका लागि एक करोड ६२ लाख ५१ हजार रुपियाँको बीमा माग दाबी परेको छ भने पाँचवटा पशुपन्छी बीमाको एक करोड ५५ लाख ५१ हजार बीमा माग दाबी परेको छ ।

इन्जिनियरिङ बीमातर्फ बाढीपहिरोले क्षति पु-याएका १०७ वटा निर्माणाधीन आयोजनाको बीमाको माग दाबी ९० करोड साता लाख ३४ हजार रुपियाँ गरिएको छ ।

आठवटा निर्माण सम्पन्न आयोजनाको बीमाको ११ करोड ७० लाख, १८ वटा हेभी इक्विपमेन्टको आठ करोड ८४ लाख ३६ हजार रुपियाँ बीमा माग दाबी गरिएको छ ।

अन्य छवटा बीमाको एक करोड ५३ लाख तीन हजार रुपियाँ बीमा माग दाबी परेको बीमा समितिले जनाएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रममा आवेदन दिन आग्रह
यसैबीच, सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचीकृत भई काममै रहेका बेला दुर्घटनामा परेका तर सामूहिक दुर्घटना बीमा रकम दाबी गर्न छुटेका श्रमिकलाई निवेदन दिन आग्रह गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सूचना सार्वजनिक गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतको काममा आबद्ध रहेकै बेला दुर्घटनामा परेका श्रमिक र श्रमिकका हकवालालाई बीमा दाबीका लागि निवेदन पेस गर्न आग्रह गरेको हो ।

उक्त कार्यक्रमअन्तर्गत दुर्घटनामा परेर मृत्यु भएका र अङ्गभङ्ग भएका श्रमिकका लागि सरकारले चालू आर्थिक वर्ष २०७७/७८ का लागि अधिकतम सात लाख रुपियाँसम्म बीमा दाबी गर्नसक्ने व्यवस्था गरिएको छ ।

मन्त्रालयले सूचनामार्फत पालिकाबाट यस कार्यक्रमअन्तर्गत सङ्कलित आयोजनामा सूचीकृत बेरोजगार व्यक्तिमध्ये काममा खटिएका समयमा दुर्घटना, स्थायी अङ्गभङ्ग भएमा वा मृत्यु भएमा सात लाख रुपियाँसम्म रकम दाबी गर्न सक्नेछन् ।

मन्त्रालयका अनुसार अहिलेसम्म बीमाको रकम दाबीका लागि आठ/दस जना घाइते भएको भन्ने आवेदन आएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमका राष्ट्रिय निर्देशक सुमन घिमिरेले उक्त कार्यक्रमअन्तर्गत काममा खटिएका बेला घाइते भएका श्रमिकले आवेदन दिन छुटेको भएमा आवेदन दिनका लागि सूचना जारी गरिएको जानकारी दिनुभयो ।

श्रम मन्त्रालय र राष्ट्रिय बीमा समितिबीच भएको सम्झौताअनुसार प्रधानमन्त्री रोजगार कार्यक्रमबाट गएको पुस १ देखि असार मसान्तसम्म रोजगारीमा रहेकै बेला दुर्घटनामा परेका श्रमिकले सामूहिक दुर्घटना बीमाको दाबी गर्न पाउनेछन् । सम्झौताअनुसार दुर्घटना भएको ३५ दिनभित्र दाबी रकमका लागि आवेदन दिइसक्नुपर्ने व्यवस्था गरिएको छ ।

श्रम मन्त्रालयका प्रवक्ता दीपक काफ्लेले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रोजगारमा खटिएका बेलामा घाइते भएका श्रमिकलाई अवस्थाका आधारमा तोकिएको बीमा रकम भुक्तानी हुने बताउनुभयो । उक्त रोजगारमा खटिएका श्रमिकको बीमा मन्त्रालयले गरेको र श्रमिकलाई बीमा गरेबापत करिब दुई करोड रुपियाँ खर्चिएको जनाएको छ ।

उक्त कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्षमा दुई लाखलाई रोजगारी दिने योजना बनाएकामा हालसम्म एक लाख ५० हजार २१९ जनाले औसतमा ५५ दिनको रोजगार प्राप्त गरेको मन्त्रालयले जनाएको छ । उक्त कार्यक्रमका लागि अहिलेसम्म झन्डै चार अर्ब रुपियाँ खर्च भएको छ । गोरखापत्र अनलाईन

Facebook Comments