Sun. May 19th, 2024

सहकुल थापा एआईजीमा बढुवा, वरिष्ठ सहसचिव कृष्णहरि पुस्करलाई सचिवमा बढुवा

काठमाडौं, २०७८ असार २५ गते शुक्रबार । सरकारले नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) सहकुल थापालाई प्रहरी अतिरीक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकले बढुवा समितिको सिफारिसअनुसार डीआईजी थापालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

सरकारले केही दिनअघि मात्र प्रहरीमा एआईजीको एक दरबन्दी थप गरेको थियो । यससँगै प्रहरीमा एआईजीको दरबन्दी पाँच पुगेको छ । प्रशासनतर्फ हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्न कार्की र विश्वराज पोखरेल एआईजी हुनुहुन्छ भने प्राविधिकतर्फ डा। आशा सिंह हुनुहुन्छ ।

सरकारले एआईजीमा दरबन्दी थपेर २५ मंसिर २०७७ मा पोखरेललाई बढुवा गरेको थियो । बढुवासँगै उहाँ भावी आईजीपीका एक्ला दाबेदार बन्नु भएको थियो । तर दरबन्दी थप गरेर थापालाई पनि एआईजीमा बढुवा गरेसँगै प्रहरी महानिरीक्षको प्रतिस्पर्धामा उहाँ पनि थपिनु भएको छ ।
कान्तिपुर अनलाईनका अनुसार मन्त्रिपरिषद्को बैठकले वरिष्ठ सहसचिव कृष्णहरि पुस्करलाई सचिवमा बढुवा गर्ने निर्णय पनि गरेको एक मन्त्रीले जानकारी दिए ।

बढुवा सिफारिस समितिले बढुवाका लागि तीन वरिष्ठ सहसचिवको नाम पठाउँदा पुस्कर पहिलो नम्बरमा हुनुहुन्थ्यो । समितिले पुस्करसँगै खगेन्द्रप्रसाद नेपाल र किरणराज शर्माको नाम सिफारिस गरेको थियो ।

Facebook Comments