Fri. Sep 20th, 2024

व्यवस्था फेरियो, संविधान फेरियो, शासक फेरिए तर राजा वीरेन्द्र र उहाँका परिवारले न्याय पाएनन् !

- दरबार हत्याकाण्डको २० वर्ष

काठमाडौं, २०७८ जेठ १९ गते बुधबार । राजा वीरेन्द्रको वंश विनाश अर्थात नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २० वर्ष पूरा भएको छ। वि.सं.२०५८ साल जेठ १९ गते शुक्रबार राति तत्कालीन राजा वीरेन्द्र वीर विक्रम शाहको वंशनाश भएको थियो।

नेपालको इतिहासमा यसलाई अत्यन्त कहालीलाग्दो घटनाका रूपमा लिइन्छ। नियमित पारिवारिक जमघटका क्रममा तत्कालीन राजा वीरेन्द्रसहित राजपरिवारका १० जनाको हत्या भएको थियो। घटनामा राजा वीरेन्द्रसँगै रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन र अधिराजकुमारी श्रुति मारिनु भएको थियो। यस्तै अधिराजकुमारी शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको हत्या भएको थियो। कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर र केतकी चेस्टर घाइते हुनुभएको थियो ।

तत्कालीन राजा ज्ञानेन्द्रको निर्देशनमा गठित उच्चस्तरीय छानबिन समितिले युवराज दीपेन्द्रले हत्या गरेको प्रतिवेदन पेश गरेको थियो। तर त्यस प्रतिवेदनलाई नेपाली जनताले ठाडै अस्विकार गरे । जनतामाझ अत्यन्त लोकप्रीय राजा वीरेन्द्र र उहाँका परिवारको हत्या भएको २० वर्ष पुरा भए पनि उहाँहरुले न्याय पाउन सक्नु भएको छैन ।

राजदरवार हत्याकाण्डपछि मानवअधिकार, प्रजातन्त्र, सामाजिक न्याय र समानताको नारा लगाएर सत्तामा पुग्ने थुप्रै नेताले राजदरवार हत्याकाण्डको छानवीन गरी देषीलाई कारवाही गर्ने प्रतिवद्धता वारम्वार गरे पनि राजा वीरेन्द्र र उहाँको परिवारले आजसम्म न्याय पाएको छैन ।

हत्याकाण्डको समयमा विद्यमान संवैधानिक राजतन्त्र फेरिएर नाम मात्रको लोकतान्त्रिक गणतन्त्र नेपाल भन्ने व्यवस्था आयो, संविधान फेरियो, लगभग एक दर्जन जति शासक फेरिए तर राजा वीरेन्द्र र उहाँका परिवारले न्याय पाएनन् जनता भन्छन् ।

समयले कठोर भएर भन्दैछ, “अव त शंका गर्नै पर्दैन यो पक्का हो, राजा वीरेन्द्रको परिवारले कहिल्यै न्याय पाउने छैनन् । दरवार हत्याकाण्डका दोषीलाई कहिल्यै कारवाही गरिने छैन । किनकी यो न्याय मरेको देश हो ।”

दरवार हत्याकाण्डमा ज्यान गुमाउने राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुती लगायत सो हत्याकाण्डमा ज्यान गुमाउने राजपरिवारका अन्य सदस्य र सर्वसाधारण सवैमा हार्दिक श्रद्धाञ्जली ।

Facebook Comments