Sun. Apr 28th, 2024

आज कानून दिवस, पहुँचयुक्त न्याय प्रणालीप्रति प्रधानन्यायाधीश जबराको प्रतिबद्धता

काठमाडौं, २०७८ बैशाक २६ गते आईतबार । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले विधिको शासनको सुनिश्चितता गर्दै सहज पहुँचयुक्त न्याय प्रणालीको स्थापना र विकासमा आफ्नो प्रतिबद्धता रहेको जनाउनुभएको छ । कानुन दिवसका अवसरमा शुभकामना सन्देश दिनुहुँदै प्रधानन्यायाधीश जबराले संविधानद्वारा प्रत्याभूत सक्षम न्यायपालिकाप्रति आफ्नो प्रतिबद्धता जनाउनुभएको हो ।

शुभकामना सन्देशमा भनिएको छ, “न्यायपालिकाको नेतृत्वको हैसियतबाट नेपालको संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा विधिको शासनको सुनिश्चितता गर्दै सहज पहुँचयुक्त न्याय प्रणालीको स्थापना र विकासमा आफ्नो स्पष्ट प्रतिबद्धतासमेत व्यक्त गर्दछु ।”

उहाँले कोरोना सङ्क्रमणको अवस्था जटिल बन्दै गएकाले सरकारले तोकेका स्वास्थ्य मापदण्ड पालना गर्न पनि सबैलाई आग्रह गर्नुभएको छ । कोरोना सङ्क्रमणका कारण अदालतको सेवासमेत सङ्कुचन गरिएको पनि उहाँले वक्तव्यमा उल्लेख गर्नुभएको छ । सेवा प्रवाहलाई सङ्क्रमणको अवस्था हेरेर सञ्चालन गरिने पनि उहाँले जनाउनुभएको छ । गोरखापत्र अनलाईन

Facebook Comments