Sun. Apr 28th, 2024

अक्सिजन सिलिन्डर लिन नेपाल वायुसेवा निगमको वाइडबडी जहाज भोली चीन जाने

काठमाडौं, २०७८ बैशाक २६ गते आईतबार । कोरोना सङ्क्रमणको रोकथाम, नियन्त्रण तथा उपचारका लागि चीनले अनुदानस्वरूप दिन लागेको अक्सिजन सिलिन्डरलगायतका स्वास्थ्य सामग्री लिन नेपाल वायुसेवा निगमको वाइडबडी जहाज भोली (वैशाख २७ गते) चीनको राजधानी पैचिंग जाने भएको छ ।

निगमका सहायक प्रवक्ता सुलेख मिश्रले कोरोनाको उपचारका लागि चीनले दिने अक्सिजन सिलिन्डरलगायतका स्वास्थ्य सामग्री लिन नेपाल वायुसेवा निगमको फ्लाइट नं. आरए-४२५१ को वाइडबडी जहाज वैशाख २७ गते चीनको राजधानी पैचिंग जाने निश्चित भएको जानकारी दिनुभयो । जहाजले पहिलो खेपमा चार सयवटा सिलिन्डर ल्याउने छ । चीनले नेपाललाई २० हजार अक्सिजन सिलिन्डर दिने घोषणा यसअघि नै गरिसकेको छ ।

सहायक प्रवक्ता मिश्रले भन्नुभयो, “वैशाख २७ गते रातको ११ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको सो जहाज पाँच घण्टा ४५ मिनेटपछि पैचिंग पुग्ने छ र त्यहाँबाट चार सयवटा सिलिन्डर र स्वास्थ्य सामग्री लिएर वैशाख २८ गते निगमको फ्लाइट नं। आरए-४२५२ को वाइडबडी जहाज स्थानीय समयअनुसार १०ः३० बजे नेपालका लागि उड्ने छ, छ घण्टा २० मिनेटको उडानपछि वैशाख २८ गते नै नेपाल आइपुग्ने छ ।”

परराष्ट्र मन्त्रालयका सहसचिव तथा प्रवक्ता सेवा लम्सालले कोरोना सङ्क्रमणको रोकथाम, नियन्त्रण तथा उपचारका लागि चीनले अनुदानस्वरूप दिन लागेको भेन्टिलेटरलगायतका स्वास्थ्य सामग्री स्थलमार्गबाट अबको पाँच दिनभित्र तातोपानी नाका आइपुग्ने जानकारी दिनुभयो । स्थलमार्गबाट ४० थान भेन्टिलेटर, २० थान अटोमेटेड एनालाइजर, १० थान डीआर मेसिन, २० थान पोर्टेबल अल्ट्रासाउन्ड र ३० थान एनेस्थेसिया मेसिनलगायतका स्वास्थ्य सामग्री आउन लागेको हो ।गोरखापत्र अनलाईन

Facebook Comments