कोरला नाकामा पाँच सय भन्दा बढी कन्टेनर रोकिए, दसैँको सामान ढुवानी प्रभावित
- लेतेदेखि कोरलासम्म पाँच सय भन्दा बढी कन्टेनर रोकिए ।
- बाढी-पहिरोले बेनी-जोमसोम सडक अझै अवरुद्ध ।
- दसैँतिहारका सामान समयमै गन्तव्यमा पुग्न सकेनन् ।
मुस्ताङ । मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयवटा कन्टेनर सडकमा लामबद्ध भएर रोकिएका छन् ।
असोज ८ देखि ११ गतेसम्मको वर्षापछिको बाढी, पहिरो र हिमपातका कारण सडक अवरुद्ध भएपछि एक सातादेखि ती कन्टेनर जिल्लाका विभिन्न स्थानमा रोकिएका हुन् । भारी वर्षाबाट अवरुद्ध म्याग्दीको पोखरेबगर, कुनौटे र बैसरीलगायतका स्थानमा सडक मर्मत भइरहेको छ ।
सडक सञ्चालनका लागि अझै एक साता लाग्ने आयोजनाका प्राविधिकले बताएका छन् । सडक सञ्चालनमा नआउँदा ७० भन्दा बढी कन्टेनर र सयभन्दा बढी विद्युतीय सवारीसाधन जोमसोमस्थित बसपार्कमा राखिएका छन् ।
बेनी-जोमसोम सडक अवरुद्ध रहे पनि कोरलानाकाबाट केही मालवस्तु बोकेका कन्टेनर भने जोमसोम ल्याइएको छ । कालीगण्डकी करिडोर सडक आयोजनाले जोमसोम-कोरला खण्डमा अवरुद्ध सडक मर्मत गरेपछि मुस्ताङ भन्सार बन्दरगाहमा रोकिएका केही मालवस्तुवाहक कन्टेनर जोमसोम ल्याइएको हो ।
यसअघि बाढी-पहिरोका कारण नाका क्षेत्रमा विद्युत् र इन्टरनेट सेवा अवरुद्ध हुँदा चीनबाट ल्याइएका सामानको भन्सार जाँचपास हुन नसकेपछि सयौँ कन्टेनर रोकिएका थिए ।
भारी वर्षापछिको बाढी, पहिरो र नदी कटानले म्याग्दी खण्डका दर्जनौँ स्थानमा विद्युत्का पोल क्षति हुँदा एक सातादेखि मुस्ताङमा केन्द्रीय ३३ केभी विद्युत् प्रसारण लाइन र इन्टरनेट सेवा अवरुद्ध भएको थियो । त्यसबाट उपल्लो मुस्ताङ भन्सार कार्यालयको नियमित सेवा प्रभावित हुँदै आएको थियो ।
कोरला नाकामै रोकिएका कन्टेनर चालक गोविन्द गुरुङका अनुसार कोरलानाकाबाट पैठारी गरिएका मालवस्तु बोकेका करिब ३०० कन्टेनर तथा २०० भन्दा बढी विद्युतीय सवारीसाधन भन्सार जाँचपासका लागि अहिले पनि रोकिएका छन् ।
चीनबाट कोरलानाका हुँदै आयात गरिएका दसैँतिहार लक्षित मालवस्तु समयमै गन्तव्यमा पुर्याउन नसक्दा व्यापारीसँगै उपभोक्ता पनि आफूले चाहेका सामग्री खरिद गर्नबाट वञ्चित हुनुपरेको छ । यसले नेपाली बजारको आर्थिक गतिविधिसमेत प्रभावित भएको छ । रासस

