राष्ट्रपति पौडेलद्वारा धानदिवसको शुभकामना
काठमाण्डू, २०८२ असार १५ गते आइतबार । राष्ट्रपति रामचन्द्र पौडेलले श्रम शक्ति तथा अन्य जनशक्तिलाई स्वदेशमै क्रियाशील गराइ आधुनिक कृषि प्रविधिको विकास तथा विस्तार गर्नुपर्ने खाँचो औल्याउनुभएको छ ।
राष्ट्रिय धान दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले धानसँग सम्बन्धित खाद्य प्रविधिको विस्तार गर्न आग्रह गर्दै धान एवं चामल आयात बर्सेनि बढ्दै जानु चिन्ताको विषय हो भन्नुभयो । राष्ट्रपति पौडेलले जमिन बाँझो रहने अवस्थाको अन्त्य गरी श्रम गर्ने संस्कृतिको विकाससँगै धान उत्पादनमा आत्मनिर्भर हुनेगरी हाम्रो प्रयासहरूलाई केन्द्रित गर्नुपर्ने खाँचो औँल्याउनुभयो ।
शुभकामनामा भनिएको छ, “धान बालीमा जलवायुमैत्री प्रविधिहरूको अवलम्बन गर्दै धान एवं चामलको उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन, खाद्य सुरक्षाको सुनिश्चितता र कृषि श्रमको सम्मान गर्ने संस्कृति बसाल्न आजको दिनले थप प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।”
नेपालमा कृषिको महत्त्व बढाउँदै राष्ट्रिय खाद्य सुरक्षामा धानको भूमिकालाई महत्त्व दिनेगरी धानको उत्पादन वृद्धि गर्न तथा यसलाई आधुनिकीकरण र व्यवसायीकरण गरी किसानको मनोबल वृद्धि गर्ने उद्देश्यले २०६१ सालदेखि प्रत्येक वर्ष असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन सुरू गरिएको हो । यस वर्ष ‘धान बालीमा सघनताः खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने आदर्श वाक्यका साथ राष्ट्रिय धान दिवस, २०८२ मनाइँदै छ ।
नेपालको संविधानले प्रत्येक नागरिकलाई खाद्यसम्बन्धी हकको व्यवस्था गरेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले खाद्यवस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुने मौलिक हकको प्रभावकारी कार्यान्वयनका लागि धानखेतीको प्रवर्द्धन गर्नु आवश्यकता औँल्याउनुभएको छ । सन्देश भनिएको छ, “नेपाल कृषिप्रधान देश हो । यहाँका अधिकांश जनताको प्रमुख खाद्यान्न बाली धान हो । त्यसैले धानखेती नेपाली समाज र जीवनसँग अभिन्न भएर रहेको छ । यसले हाम्रो जीवनमा आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक एवं पर्यटकीय महत्त्व पनि राख्दछ ।” विश्वव्यापी जलवायु परिवर्तनले धानखेतीमा पारेको र पर्न सक्ने नकारात्मक असरलाई न्यूनीकरण गर्न सरकार, किसान र सरोकारवाला पक्षलाई सचेत र जागरुक बनाई धानको उत्पादन एवं उत्पादकत्व बढाउँदै धानबालीको विविधिकरण गर्नुपर्ने आजको आवश्यकता भएको उहाँको भनाइ छ ।
राष्ट्रपति पौडेलले नेपालमा धानखेतीका लागि पर्याप्त सिँचाइको व्यवस्था भइनसकेको सन्दर्भमा वर्षा राम्रो नभएको वर्ष धान उत्पादन घट्ने र वर्षा राम्रो हुँदा उत्पादन बढ्ने गरेको तथ्यहरूले देखाउने बताउँदै धानखेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार गर्न राज्यको ध्यान केन्द्रित हुन जरुरी रहेको बताउनुभयो ।
“धान र चामल आयात बर्सेनि बढ्दै जानु चिन्ताको विषय हो । जमिन बाँझो रहने अवस्थाको अन्त्य गरी श्रम गर्ने संस्कृतिको विकाससँगै धान उत्पादनमा आत्मनिर्भर हुनेगरी हाम्रो प्रयासलाई केन्द्रित गर्नुपर्ने खाँचो छ”, सन्देशमा भनिएको छ ।
राष्ट्रिय धान दिवस, २०८२ शुभकामना सन्देश
राष्ट्रिय धान दिवस, २०८२ को अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
नेपालमा कृषिको महत्त्व बढाउँदै राष्ट्रिय खाद्य सुरक्षामा धानको भूमिकालाई महत्त्व दिनेगरि धानको उत्पादन वृद्धि गर्न तथा यसलाई आधुनिकीकरण र व्यवसायीकरण गरी कृषकको मनोबल वृद्धि गर्ने उद्देश्यले वि सं २०६१ सालदेखि प्रत्येक वर्ष आषाढ १५ गते लाई राष्ट्रिय धान दिवसको रूपमा मनाउन शुरू गरिएको हो । यस वर्ष ‘‘धान वालीमा सघनता: खाद्य सुरक्षा र आत्म निर्भरता’’ भन्ने आदर्श वाक्यका साथ राष्ट्रिय धान दिवस, २०८२ मनाइरहेका छौँ ।
नेपालको संविधानले प्रत्येक नागरिकलाई खाद्यसम्बन्धी हकको व्यवस्था गरेको छ । खाद्यवस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुने मौलिक हकको प्रभावकारी कार्यान्वयनका लागि धान खेतीको प्रवर्द्धन गर्नु आवश्यक देखिन्छ । नेपाल कृषि प्रधान देश हो । यहाँका अधिकांश जनताको प्रमुख खाद्यान्न बाली धान हो । त्यसैले धान खेती नेपाली समाज र जीवनसँग अभिन्न भएर रहेको छ । यसले हाम्रो जीवनमा आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक एवम् पर्यटकीय महत्त्व पनि राख्दछ । विश्वव्यापी जलवायु परिवर्तनले धान खेतीमा पारेको र पर्न सक्ने नकारात्मक असरलाई न्यूनीकरण गर्न सरकार, कृषक र सरोकारवाला पक्षलाई सचेत र जागरुक बनाई धानको उत्पादन एवम् उत्पादकत्व बढाउँदै धानवालीको विविधीकरण गर्नुपर्ने आजको आवश्यकता हो ।
नेपालमा धान खेतीको लागि पर्याप्त सिंचाईको व्यवस्था भईनसकेको सन्दर्भमा वर्षा राम्रो नभएको वर्ष धान उत्पादन घट्ने र वर्षा राम्रो हुँदा उत्पादन बढ्ने गरेको तथ्यहरूले देखाउँछ । धानखेती योग्य जमिनमा सिचाइँ सुविधा विस्तार गर्न राज्यको ध्यान केन्द्रित हुन जरुरी छ भन्ने म ठान्दछु ।
धान एवम् चामल आयात वर्षेनी बढ्दै जानु चिन्ताको विषय हो । जमिन बाँझो रहने अवस्थाको अन्त्य गरी श्रम गर्ने संस्कृतिको विकाससँगै धान उत्पादनमा आत्मनिर्भर हुने गरी हाम्रो प्रयासहरूलाई केन्द्रित गर्नुपर्ने खाँचो छ । नेपालमा कृषिलाई आकर्षक पेशाको रुपमा विकास गरी श्रम शक्ति तथा अन्य जनशक्तिलाई स्वदेश मै क्रियाशील भई आधुनिक कृषि प्रविधिको विकास तथा विस्तार गर्दै धानसँग सम्बन्धित् खाद्य प्रविधिको विस्तार गरौँ भन्ने मेरो आग्रह छ ।
अन्त्यमा, धान बालीमा जलवायुमैत्री प्रविधिहरूको अवलम्बन गर्दै धान एवम् चामलको उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन, खाद्य सुरक्षाको सुनिश्चितता र कृषि श्रमको सम्मान गर्ने संस्कृति बसाल्न आजको दिनले थप प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।
जय नेपाल !
२०८२ असार १५ गते आइतबार ।
ने.सं. ११४५ दिल्लाथ्व चतुर्थी ।


