नवरात्रको दोस्रो दिन शक्तिपीठमा भक्तजनको घुइँचो, दसैँको किनमेल पनि बढ्यो
- देशभरका शक्तिपीठमा बिहानैदेखि भक्तजनको लर्को ।
- देवी मन्दिरमा विशेष पूजाआराधना, बजारमा किनमेल गर्नेको भीड ।
- दसैँमा घर फर्किने यात्रुलाई सार्वजनिक यातायातको सास्ती ।
काठमाण्डू। दुर्गा पक्ष अर्थात् नवरात्रको दोस्रो दिन आज देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा बिहानैदेखि भक्तजनको चाप बढेको छ । दसैँको दोस्रो दिन भएकाले राजधानीसहित देशभरका देवी मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको हो ।
सामान्य अवस्थामा पनि भक्तजनको भीड लाग्ने देवी मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको लर्को लागेको छ । राजधानीका गुह्येश्वरी, जयबागीश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, श्वेतकाली, दक्षिणकाली, चामुण्डामाई, सुन्दरीमाई, बज्रयोगिनी, बङ्गलामुखी र टोखा चण्डेश्वरीलगायत मन्दिरमा भक्तजनको लाम लागेको छ ।
शक्तिपीठ तथा देवी मन्दिरलाई ध्वजापताकाले सिँगारिएको छ । देवीका भजन, मङ्गल धुन र स्तोत्र वाचनले मन्दिर परिसर भक्तिमय बनेका छन् । मैतीदेवी मन्दिर प्रवेश गर्ने सडकमा आकर्षक द्वार निर्माण गरिएको छ । नक्साल भगवती मन्दिर परिसरलाई पनि आकर्षक रूपमा सजाइएको छ ।
नवरात्रका अवसरमा नौवटा देवी मन्दिरको दर्शन गर्नुपर्ने धार्मिक मान्यताअनुसार केही भक्तजनले प्रत्येक दिन फरकफरक शक्तिपीठमा पुग्ने योजना बनाएका छन् ।
उपत्यकाबाहिरका देवी मन्दिरमा पनि भक्तजनको भीड बढेको छ । पाथीभरा, छिन्नमस्ता, गहवामाई, पलाञ्चोक, पाल्चोक, नाला भगवती, चण्डेश्वरी, मनकामना, इच्छाकामना, विन्ध्यवासिनी, बाग्लुङ कालिका, शैलेश्वरी, उग्रतारा र बडिमालिकालगायत देशभरका देवी मन्दिरमा दर्शनार्थीको चाप बढेको छ ।
शारदीय नवरात्रका अवसरमा शक्तिपीठमा दर्शन गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास छ । यस अवधिमा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआराधना गरिन्छ । नौ दिनसम्म विधिपूर्वक साधना तथा पूजाआराधना गरेमा मनोकामना पूरा हुने र शक्ति प्राप्त हुने धार्मिक मान्यता छ ।
नवौँ दिनसम्म विधिपूर्वक पूजाआराधना गरिएको दुर्गादेवीको प्रसाद विजयादशमीका दिन मान्यजनको हातबाट लगाइन्छ । दसैँको मुख्य दिन विजयादशमीमा घटस्थापनाका दिन स्थापना गरिएको घडाको जलले अभिषेक गरी दुर्गाको प्रसादस्वरूप जमरा र रातो टीका लगाउने चलन छ । केही जातिले भने यस अवसरमा सेतो अक्षताको टीका लगाउँछन् ।
यसैबीच, दसैँका लागि बजारमा किनमेल गर्नेको चहलपहल पनि बढेको छ । मुख्य बजारमा सामान किन्नेको घुइँचो लागेको छ । धेरै मानिस आफ्नो थातथलो फर्किसकेका छन् भने कतिपय घर जाने तयारीमा छन् ।
काठमाण्डू उपत्यकाबाट बाहिरिने यात्रुले सार्वजनिक यातायात सहज नभएको गुनासो गरेका छन् । सार्वजनिक यातायातको उचित व्यवस्थापन नहुँदा दसैँ, तिहारजस्ता चाडपर्वमा यात्रुले सास्ती खेप्नुपर्ने बाध्यता छ । तीन तहको सरकारको संरचना भए पनि सार्वजनिक यातायात व्यवस्थापनमा कसैको ध्यान जान नसकेको गुनासो सर्वसाधारणले गर्दै आएका छन् ।
यस वर्ष बाढीका कारण रसुवा, धादिङ, गोरखा, मुस्ताङलगायत जिल्लाका सडक तथा पुलमा क्षति पुगेकाले यात्रामा थप समस्या भएको छ । रासस

