२०८३ आश्विन २६, सोमवार

पाकिस्तानमा इमरान खानको पार्टीका २७८ सदस्य पक्राउ

       
  • खैबर पख्तुनख्वामा पीटीआईका २७८ सदस्य हिरासतमा ।
  • खानको रिहाइ माग्दै सरकारविरोधी प्रदर्शन ।
  • आपत्कालीन शासनपछि राजनीतिक तनाव बढ्यो ।

पेशावर । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा आपत्कालीन शासन लागू भएपछि जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का २७८ सदस्यलाई प्रहरीले हिरासतमा लिएको छ ।

दुई प्रहरी अधिकारीका अनुसार खानको रिहाइको माग गर्दै आइतबार भएको सरकारविरोधी प्रदर्शनपछि प्रान्तमा आपत्कालीन शासन घोषणा गरिएको थियो । नाम सार्वजनिक नगर्ने सर्तमा उनीहरूले आइतबारदेखि पार्टीका सदस्यहरूलाई हिरासतमा लिइएको जानकारी दिएका हुन् ।

खानका समर्थकहरूले देशको कठिन आर्थिक अवस्थाप्रति असन्तुष्टि जनाउँदै सरकारविरोधी प्रदर्शन गरिरहेका छन् । हजारौँ समर्थक खैबर पख्तुनख्वामा पदयात्रामा सहभागी भइरहेका बेला प्रान्तमा आतङ्कवादी हिंसा पनि बढिरहेको छ । विशेषगरी अफगानिस्तानसँगको सीमावर्ती क्षेत्रमा सुरक्षा चुनौती गम्भीर बनेको छ ।

पीटीआईले प्रान्तका मुख्यमन्त्री सोहेल अफ्रिदीलाई राष्ट्रपतिले असाधारण संवैधानिक उपाय घोषणा गरेको केही घण्टापछि पक्राउ गरिएको जनाएको छ । एक प्रशासनिक अधिकारीका अनुसार उहाँलाई आधिकारिक निवासमा ‘सुरक्षात्मक हिरासत’ मा राखिएको थियो । पछि उहाँलाई अर्को स्थानमा सारिएको भए पनि कहाँ लगिएको हो भन्नेबारे अधिकारीले खुलाउन अस्वीकार गरेका छन् ।

खैबर पख्तुनख्वा पीटीआईको बलियो आधार क्षेत्र हो । पाकिस्तान सरकारले सुरक्षा अवस्थामा सुधार नआएसम्म त्यहाँको पीटीआई नेतृत्वको सरकार प्रभावकारी रूपमा सञ्चालन हुन नसक्ने जनाएको छ । सङ्घीय सरकारले प्रान्तीय प्रशासन आतङ्कवादी गतिविधि नियन्त्रण गर्न असफल भएको आरोप लगाउँदै आपत्कालीन शासन आवश्यक रहेको दाबी गरेको छ ।

पीटीआईले भने असाधारण संवैधानिक उपायको विरोध गर्दै त्यसलाई अलोकतान्त्रिक कदम र सङ्घीय सरकारको सत्ता कब्जा गर्ने प्रयास भनेको छ ।

पूर्वक्रिकेट खेलाडीसमेत रहनुभएका खान सन् २०२३ अगस्टदेखि जेलमा हुनुहुन्छ । सन् २०२३ मेमा सरकार र सैन्य प्रतिष्ठानविरोधी हिंसात्मक प्रदर्शन भएपछि उहाँले भ्रष्टाचार तथा हिंसा भड्काएको लगायतका आरोप सामना गरिरहनुभएको छ । खान र उहाँको कानुनी टोलीले भने ती आरोप अस्वीकार गर्दै राजनीतिक प्रतिशोधबाट प्रेरित भएको बताउँदै आएका छन् । एएफपी

Facebook Comments