राजसंस्था पुनस्थापनाकालागि अनिश्चितकालिन जनआन्दोलनको घोषणा
काठमाण्डू, २०८२ वैशाख २५ गते बिहीबार । राजसंस्था पुनस्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले अनिश्चिकालिन जनआन्दोलनको घोषणा गरेको छ ।
आज काठमाण्डूमा आयोजित कार्यक्रममा समितिका संयोजक नवराज सुवेदीले आगामी जेठ १५ गतेदेखि अनिश्चितकालिन जनआन्दोलन शुरु गर्ने बताउनुभएको हो । उहाँले आन्दोलन शान्तिपूर्ण हुने बताउनु भयो । भद्रअवज्ञा र सत्यग्रह आन्दोलनको स्वरुप हुने उहाँको भनाइ छ । उहाँले देश महाशक्ति राष्ट्रहरुको रणनीतिको प्रतिस्पर्धा बन्न लागेको भन्दै अन्तर्राष्ट्रिय जगतमा नेपालको विश्वसनीयता गुम्दै गएको तर्क गर्नुभयो । संयोजक सुवेदीले देशमा भ्रष्ट व्यवस्था र भ्रष्टहरुको शासन रहेकाले त्यसबाट देश र जनतालाई मुक्त गर्नु आन्दोलनको कार्यभार रहेको जानकारी दिनुभयो । उहाँले संविधानले दिएको अधिकार प्रयोग गर्दै व्यवस्था परिवर्तनका लागि दबाब सिर्जना गर्न समितिमा आवद्ध दल तथा समूहहरु आन्दोलनमा उत्रिने बताउनु भयो । आन्दोलन सरकार वा दलको विरुद्धमा नभएको उहाँको भनाइ छ ।
संयोजक सुवेदीले २०७२ सालमा जारी भएको धर्म निरपेक्ष गणतन्त्रात्मक संविधान पूर्ण रुपमा असफल भइसकेको दाबी गर्नुभयो ।

