कोरोनाको सङ्क्रमणले तिब्रता लिँदै, संक्रमितको संख्या एक लाख नाघ्यो, सक्रिय सङ्क्रमित २७ हजार, छ सयको मृत्यु
काठमाडौं, २०७७ असोज २३ गते शुक्रबार
नेपालमा कोरोना भाइरसका दुई हजार ५९ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा सो संख्यामा सङ्क्रमित थपिएका हुन् । पछिल्लो चौबीस घण्टामा १३ हजार २७९ वटा नमूनाको परीक्षण गरिएकोमा सो संख्यामा सङ्क्रमित थपिएका हुन् ।
गोरखापत्र अनलाईनका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्मा सो सङ्क्रमितसहित एक लाख ६७६ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको हो ।
हाल २७ हजार ५३ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । सोही संख्यामा होम र संस्थागत आइसोलेसनमा बसेका छन् । क्वारेन्टिनमा चार हजार ७०३ छन् ।
मन्त्रालयले पछिल्लो चौबीस घण्टामा एक हजार ६८० जना कोरोना सङ्क्रमित निको भएर घर फर्केको बताएको छ । हालसम्म ७३ हजार २३ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।
मृत्यु
पछिल्लो चौबीस घण्टामा १० जनाको कोरोना भाइरसका कारणले मृत्यु भएको छ । योसँगै नेपालमा कुल ६ सय जनाको मृत्यु भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।