Sat. Apr 27th, 2024

डा.केसीको स्वास्थ्य अवस्था गम्भिर बन्दै, सरकारको तर्फबाट वार्ता टोली गठन भएपछि मात्रै अनशन तोडिने केसीको भनाई

काठमाडौं, २०७७ असोज २० गते मंगलबार

२३ दिनदेखि आमरण अनशनरत डा.गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भिर बन्दै गएको छ । तर शारिरीक रुपमा कमजोर भए पनि डा.केसीको अडान भने एकरत्ति पनि लच्किएको छैन । वहाँ सरकारको तर्फबाट वार्ता टोली गठन नभएसम्म अनसन तोड्न नसक्ने अडानमा दृढ हुनुहुन्छ ।

यसैबीच सरकारका तर्फबाट शिक्षा मन्त्रालयका सचिव गोपीनाथ मैनालीसहित ३ जनाको टोलीले मंगलबार २३ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीलाई भेटेको  खवर कान्तिपुरले लेखेको छ । डा. केसीलाई भेटेर स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएको र अनशन तोड्न आग्रह गरिएको शिक्षा सचिव मैनालीले बताउनु भयो ।

‘हामीले नेपाल सरकारको तर्फबाट उहाँलाई भेटेर अनशन तोड्न आग्रह गर्यौ, उहाँले सरकारको तर्फबाट वार्ता टोली गठन भएपछि मात्रै अनशन तोड्ने बताउनुभयो,’ मैनालीले भन्नुभयो । आफूहरुले केसीसँग ५/७ मिनेट कुराकानी गरेको उनले जानकारी दिनुभयो । ‘उहाँ २ मिनेट जति मात्रै बोल्नुभयो, लामो कुराकानी गर्न नसक्ने अवस्थामा पुगिसक्नु भएको रहेछ,’ मैनालीले भन्नुभयो, ‘डा. केसीका सहयोगीहरुले उहाँको स्वास्थ्य अवस्था धेरै नै नाजुक भइसकेको जानकारी दिनुभयो ।’ उहाँको स्वास्थ्य अवस्थाकै कारण लामो कुराकानी गर्न नसकिएको सरकारी टोलीले जनाएको छ ।

टोलीमा शिक्षा मन्त्रालयका प्रवक्ता तथा विद्यालय शिक्षा महाशाखाका सहसचिव दिपक शर्मा र उच्च शिक्षा महाशाखाका उपसचिव लक्ष्मी खड्का हुनुहुन्थ्यो । डा. केसीले औपचारिक रुपमा सरकारलाई आफ्ना मागहरु समेत नराखेको सचिव मैनालीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘उहाँको स्वास्थ्य जोखिम बढ्दै गएको छ, यतिबेला सरकारले कोरोनाको कारण स्वास्थ्य सेवा प्रदान गर्ने कामलाई प्राथमिकता दिएको छ, त्यही भएर अनशन तोड्नुपर्छ भनेका हौं ।’ साधन स्रोतले भ्याएसम्म डा. केसीले राखेका मागहरु सरकारले पूरा गर्दै गएको मैनालीले जानकारी दिनुभयो ।

केसीले भने सरकारसँग आफू वार्ता गर्न तयार रहेको बताउनु भएको थियो। उहाँले सरकारी टोलीलाई आफ्नो तर्फबाट वार्ता गर्न टोली तयारी अवस्थामै रहेको जानकारी दिनु भयो । सरकारी टोलीले भने वार्ता गर्नभन्दा पनि बढी अनशन तोड्न आग्रह गरेको डा। केसीका सहयोगीहरुले बताए । केसीले सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले समेत अनशन तोड्न मात्रै आग्रह गरेकाले ुभेट्न आउन दुस्ख नपाएको भए पनि हुन्थ्यो भन्नु भएको थियो ।

डा. केसीका सहयोगी प्रतिम सुवेदीले अनशनकै कारण स्वास्थ्य अवस्था नाजुक हुँदा पनि सरकार संवेदनशील नभएको बताउनु भयो। ‘सरकारी टोलीले अनशन तोड्नुस् भन्यो,’ उहाँले भन्नुभयो, ‘डा.केसीले मागहरु पूरा गर्न र छलफलका लागि सरकारले आधिकारिक रुपमा वार्ता टोली बनाएर पठाउनुपर्ने अडान राखेर टोलीलाई फिर्ता पठाइदिनुभयो ।’

जुम्लाबाट १९ औं अनशनमा रहनु भएका चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.केसी शिक्षण अस्पतालमा हुनुहुन्छ । जुम्लाबाट सुरु गरेको अनशनलाई निरन्तरता दिँदै उहाँ काठमाडौं आउनु भएको हो ।

Facebook Comments