Sat. Apr 27th, 2024

प्रदेश ५ को प्रदेशसभा बैठकमा कांग्रेस सांसदद्वारा तोडफोड

बुटवल, २०७७ असोज १९ गते सोमबार

प्रदेश ५ को प्रदेशसभा बैठकमा तोडफोड भएको छ। प्रदेशको राजधानीको विषयमा विमति राखेका कांग्रेस सांसदले बैठकमा तोडफोड गरेका हुन्।

विरोधका बीच बैठक चलाएको भन्दै कांग्रेस सांसदले प्रदेशसभाभित्र टेबुल र कुर्सी तोडफोड गरेका हुन्। आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशसभा बैठकमा नाम र राजधानीसम्बन्धी प्रस्ताव पेश गरेका छन्।

कुर्सी फुटाउने सांसदलाई कांग्रेसले कारवाही गर्ने

नेपाली कांग्रेसले प्रदेश ५ का सांसदहरुले गरेको कुर्सी तोडफोड पार्टीको नीति र संस्कृति विपरित भएको जनाएको  छ। साथै कांग्रेसले कुर्सी तोडफोडमा संलग्न सांसदलाई कारवाही गर्ने संकेत गरेको छ।

अन्न्पूर्ण पोष्ट दैनिकका अनुसार प्रदेश ५ को प्रदेश सभा बैठकमा प्रदेशको नाम र राजधानीबारे प्रस्ताव पेश गर्ने क्रममा सोमबार प्रमुख प्रतिपक्षी दल कांग्रेस निकट सांसदहरुले कुर्सी तोडफोड गरेका थिए। उनीहरुले प्रदेश सरकारको विरोध गर्दै प्रदेश मन्त्रीलाई प्रस्ताव पेश गर्न रोष्ट्रम जाने क्रममा अवरोध प्रयाससमेत गरेका थिए। कांग्रेस सांसदको हर्कतको चौतर्फी आलोचना भएपछि पार्टीका  प्रवक्ता विश्वप्रकाश शर्माले कुर्सी तोडफोड गर्ने कार्यलाई छिटपुट भनेर नछोप्ने स्पष्ट पारेका छन्।

‘संसदीय व्यवस्था कम्युनिस्टका लागि बाध्यताको, कांग्रेसका लागि रोजाईको पद्धति हो। यसलाई परिमार्जित र सुसंस्कृत बनाउँदै अघि बढ्ने कर्तव्य पनि हाम्रै हो,’ प्रवक्ता शर्माले भने, ‘अरुका गल्तीमा सच्याउँदै बढ्न प्रेरित गर्ने कांग्रेस आफ्नाको ‘छिटपुट’ भनेर छोप्दैन, कठोरतापुर्वक सच्याएर बढ्ने सामर्थ्य राख्नेछौं।’

कांग्रेसका प्रदश ५ का चार सांसदले कुर्सी टेबलमा बजार्ने, रोष्टमतिर फाल्ने र माइक पनि तोडफोड गरेका थिए। प्रदेश सांसदहरु बसिउद्धिन खाँ, बैजनाथ कलवार र अष्टभूजा पाठकले कुर्सी तोडफोड गरेका हुन् भने अर्की एक महिला सांसदले  बोल्ने माइक पनि तोडफोड गरेकी थिइन्।

सामाजिक सञ्जालमा तत्कालीन नेकपा माओवादीका सांसदहरुले अर्थमन्त्रीलाई प्रतिनिधिसभामा बजेट पेश गर्नेक्रममा कुर्सी तोडफोड गर्नुका साथै मन्त्रीको हातबाट बजेटको ब्रिफकेस खोस्न खोजेको घटनासँग तुलना गर्दै कांग्रेसको तीब्र आलोचना गरेका छन्। लोकतान्त्रिक पार्टीका सांसदहरुले गरेको हर्कतले  कांग्रेसको मात्र नभएर लोकतन्त्रकै खिल्ली उडाएको आरोप सामाजिक सञ्जाल प्रयोगकर्ताको छ।

कांग्रेस प्रवक्ता शर्माले कम्युनिष्ट पार्टीलाई लोकतान्त्रिक बनाउने कांग्रेसका सांसदलाई अराजक बन्न छुट नभएको बताएका छन्। ‘कुर्सी तोडफोड गर्ने, रोस्ट्रम भांच्नेदेखि संसदीय पद्धति नै नास्छौं भन्ने कम्युनिस्ट पार्टीहरुलाई समेत रुपान्तरण गर्ने प्रशिक्षक रहेको दलका सांसदलाई पार्टीको संस्कृति उलंघनको स्वायत्तता विल्कुलै दिइएको छैन,’ उनले स्पष्ट पारे।

Facebook Comments