Fri. Apr 19th, 2024

पूर्वकै पहिलो पाँचतारे होटल सञ्चालनमा

काठमाडौं, २०७७ असोज १८ गते आईतबार

झापाको मेचीनगर नगरपालिका धुलाबारीमा डेढ अर्ब रुपैयाँको लगानीमा पाँचतारे होटल सञ्चालनमा आएको समाचार कारोबार दैीनकले लेखेको छ । भेगास सिटी इन्टरटेनमेन्ट प्रालिले सञ्चालनमा ल्याएको मेची क्राउन पूर्वकै पहिलो पाँचतारे होटल हो । पूर्व-पश्चिम राजमार्गले छोएको धुलाबारीमा आठ विगाहामा होटलको संरचना निर्माण भएका छन् ।

पूर्वमा पर्यटनको राम्रो सम्भावना देखेर नै होटल सञ्चालनमा ल्याइएको भेगास सिटी इन्टरटेनमेन्ट प्रालिका अध्यक्ष पवित्रकुमार कार्कीले बताए । पूर्वी नाका काँकरभिट्टादेखि भारत, बंगालादेश र भुटान छोटो दूरीमा रहे पनि नेपालतर्फ सुविधासम्पन्न होटलको अभाव रहेको थियो । “कञ्चनजंघा हिमाल, ठूलो पाथिभरा, इलाम, भारतको दाजिलिङ, सिक्किमलगायतका पर्यटकीय गन्तव्यमा आउने पर्यटकहरू सुविधासम्पन्न होटलको खोजीमा थिए” कार्कीले भने, “यी पर्यटकीय क्षेत्रमा पुग्ने पर्यटकलाई लक्षित गरेर होटल सञ्चालनामा ल्याइएको हो । मुलुकको पर्यटन व्यवसायलाई समृद्ध तुल्याउन स्तरीय होटल आवश्यक हुने भएकोले प्रदेश-१ मै पहिलो पाँचतारे होटल सञ्चालनमा ल्याउन आफ्नो टिम सफल भएको कार्कीले बताए ।

चन्द्रगढी विमानस्थलबाट १७ किलोमिटर र भारतको बागडोग्रा विमानस्थलबाट २५ किलोमिटरको दूरीमा अवस्थित होटल मेची क्राउनमा भारत, बंगलादेश र भुटानबाट आउने पर्यटकको रोजाइमा पर्ने होटेलको व्यवस्थापन कम्पनी ‘दी पिक हस्पिटालिटी’का अध्यक्ष दिपक लेखकले बताए । होटल परिसरमा क्यासिनो, हेलिप्याड, स्पा, जिमहाउस, स्वीमिङ पुलल, ग्रीन गार्डेनगायत सुविधा छन् भने भविष्यमा व्यापारिक मल समेत त्यही बनाइने लेखकले जानकारी दिए । सम्मेलन, सेमिनार, बैठक र विवाहलगायत कार्यक्रम गर्न सकिने उक्त होटलमा १०५ वटा सुविधासम्पन्न कोठाहरू छन् । त्यसमा ५ वटा मेची सुइट्स रुम, १० वटा एगजुकेटिभ भिला रुम, १९ वटा मेची क्लब रुम र ७१ वटा डिलक्स रुम छन् ।

Facebook Comments