Sat. May 18th, 2024

डा. गोविन्द केसीको विषयमा बल्ल बोल्यो सरकार

काठमाडौं, २०७७ असोज १५ गते बिहीबार

शिक्षण अस्पताल महाराजगंजमा अनसनरत वरिष्ठ डा. गोविन्द केसीको विषयमा वल्ल सरकार बोलेको छ ।

परराष्ट्रमन्त्री तथा सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले डा. गोविन्द केसीलाई अनसन फिर्ता लिई कारोनाविरुद्धको साझा लडाईंमा सक्रिय हुन आग्रह गर्नुभएको छ । गोरखापत्र अनलाईनका अनुसार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्नेक्रममा बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले सो आग्रह गर्नुभएकाे हाे ।

डा. केसी अहिले शिक्षण अस्पतालमा अनसनरत हुनुहुन्छ । उहाँले उठाएको माग सम्बोधन भएर कार्यान्वयनमा गइसकेकाले अब अनसन र हड्तालको कुनै आवश्यकता नभएको बताउनुहुँदै मन्त्री ज्ञवालीले भन्नुभयो, “अहिले देश संकटमा छ, असामान्य अवस्थामा अनसन, धर्ना, हडताल सुहाउने बेला होइन । अनसन फिर्ता लिई कोभिड १९ विरुद्धको साझा लडाईंमा सहभागी होऔं ।”

डा. केसीले उठाएको मागअनुसार सात वटै प्रदेशमा मेडिकल कलेजको स्थापना भई कार्यान्वयनको चरणमा रहेको प्रवक्ता ज्ञवालीले बताउनुभयो । त्यस्तै, चिकित्सा शिक्षा सम्बन्धी ऐन निर्माण भएको, उच्चस्तरीय आयोग गठन भई कार्यान्वयनको चरणमा रहेको, त्यसको नियमावली समेत बनिसकेको उहाँले बताउनुभयो । ७५ प्रतिशत छात्रबृत्तिको माग पनि कार्यान्वयनमा गैसकेको उहाँले जानकारी दिनुभयो ।

सोहीअनसार कोरोना विरुद्धको लडाईं जारी रहेकाले सबैले आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने प्रवक्ता ज्ञवालीले आग्रह गर्नुभयो । कार्यथलोमा काम गर्दा सुरक्षाका आवश्यक प्रबन्ध कडाईका साथ पालना गर्न उहाँले सबैमा आग्रह पनि गर्नुभयो । कोरोनाबाट मृत्यु भएको संख्या पाँचसय नाघेको अवस्थामा सबैजना सचेत हुनुपर्ने उहाँले जाेड दिनुभयो ।

प्रवक्ता ज्ञवालीकाअनुसार मदन भण्डारी औद्योगिक विश्व विद्यालयसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति शिक्षा मन्त्रालयलाई दिइएको छ । त्यस्तै, संघीय तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावअनुसार यसअघि विज्ञापन भइसकेको तर परीक्षा हुन नसकेका लोकसेवा आयोगका परीक्षा सञ्चालन गर्ने स्वीकृति लोकसेवा आयोगलाई दिने निर्णय गरिएको पनि उहाँले जानकारी दिनुभयो । कोरोनाका कारण गत वैशाखमा परीक्षा स्थगन गरिएको थियो ।

Facebook Comments