Wed. Apr 2nd, 2025 11:20:54

मध्यस्थकर्ताबाट प्राप्त गाजा युद्धविरामको नयाँ प्रस्तावमा हमास सहमत

दोहा, २०८१ चैत १७ गते आइतबार ।  हमासका एक उच्च अधिकारीले शनिबार समूहले मध्यस्थकर्ताहरूद्वारा प्रस्तुत गाजा युद्धविरामको नयाँ प्रस्तावलाई स्वीकृत गरेको भन्दै इजरायलसमक्ष यसलाई समर्थन गर्न आग्रह गरेका छन् । यद्यपि उनले हमासले हतियार बिसाउने सर्तमा युद्धविराम हुननसक्ने चेतावनी दिएका छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले पनि मध्यस्थकर्ताहरूबाट प्रस्ताव प्राप्त भएको र जवाफमा प्रति-प्रस्ताव पेस गरेको पुष्टि गरेको छ ।

“दुई दिनअघि हामीले इजिप्ट र कतारका मध्यस्थता गर्ने भाइहरूबाट प्रस्ताव प्राप्त गर्यौँ । हामीले यसलाई सकारात्मक रूपमा लियौँ र अनुमोदन गर्यौँ । हामीलाई कब्जा (इजरायल) ले यसलाई रोक्दैन भन्ने आशा छ”, खलिल अल-हयाले मुस्लिम पर्व ईद अल-फित्रको अवसरमा टेलिभिजनमा प्रसारित सम्बोधनमा भन्नुभयो, “प्रतिरोधका हतियारहरू बिसाइने छैन ।”

नेतन्याहुको कार्यालयले मध्यस्थकर्ताहरूबाट प्रस्ताव प्राप्त गरेको पुष्टि गरेको छ ।

“प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हिजो मध्यस्थकर्ताहरूबाट प्राप्त प्रस्तावअनुसार शृङ्खलाबद्ध परामर्श गर्नुभएको थियो”, उहाँको कार्यालयले एक विज्ञप्तिमा भनेको छ ।

“केही घण्टाअघि इजरायलले अमेरिकासँग पूर्ण समन्वयमा मध्यस्थकर्ताहरूलाई प्रति–प्रस्ताव पठाएको थियो”, कार्यालयले विस्तृत विवरण नदिई भन्यो ।

एक दिनअघि हमासका वरिष्ठ अधिकारी बासेम नइमले इजरायलले गाजामा सघन कारबाही जारी राख्दै गर्दा प्यालेस्टिनी इस्लामवादी आन्दोलन र युद्धविराम सम्झौतामा मध्यस्थकर्ताहरूबीचको वार्ताले गति लिइरहेको बताउनुभएको थियो ।

हमास निकट प्यालेस्टिनी स्रोतहरूले युद्धविराम र बन्धक रिहाई सम्झौता पुनर्जीवित गर्न लडकू समूह र इजिप्ट तथा कतारका मध्यस्थकर्ताहरूबीच बिहीबार साँझदेखि वार्ता सुरु भएको बताएका थिए ।

इजरायलले क्षेत्रभर आफ्नो बमबारी अभियान फेरि सुरु गर्नुअघि गाजा पट्टीमा सापेक्षिक शान्ति ल्याएको नाजुक युद्धविराम मार्च १८ मा समाप्त भएको थियो ।

इजरायली प्रधानमन्त्री नेतन्याहुले हमासले बन्धकहरू रिहा नगरे गाजाका केही भाग कब्जा गर्ने धम्की दिएको र हमासले इजरायलले प्यालेस्टिनी क्षेत्रमा बम्बारी बन्द नगरे बन्दीहरू ‘कफिनमा’ फिर्ता हुने चेतावनी दिएको एक दिनपछि दोहामा वार्ता सुरु भएको थियो । एएफपी

Facebook Comments