नेप्से परिसूचक ४१ अङ्कले बढ्यो

काठमाण्डू, २०८१ चैत १४ गते बिहीबार । साताको अन्तिम कारोबार दिन आज शेयर बजारमा उल्लेखनीय वृद्धि भएको छ । हिजो उच्च अंकले बढेर बन्द भएको शेयर बजार मापक नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।
आज नेप्से परिसूचक ४१.४३ अंक बढेर २६६३.३० विन्दुमा पुगेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । हिजो ४ अर्ब २० करोडको शेयर खरिदबिक्री भएकोमा आज ५ अर्ब २२ करोड ३० लाख ८३ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । आज गुराँस लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यसैगरी, सृजनशील लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ भने सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयरमूल्य साढे ८ प्रतिशतले वृद्धि भएको छ ।
कारोबार रकमका आधारमा आज हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ५१ करोड १८ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । यसैगरी, नेपाल पुनर्बीमा कम्पनीको २७ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको करिब साढे २५ करोडको शेयर किनबेच भएको छ । आज १३ वटै उपसमूहको परिसूचक बढेको छ । बढेकामध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ६.०९ प्रतिशतले वृद्ध भएको छ ।