Sun. Mar 30th, 2025

शेयर बजारमा उच्च वृद्धि

काठमाण्डू, २०८१ चैत १३ गते बुधबार । शेयर बजार आज उच्च अंकले वृद्धि भएको छ । हिजो ५८ अंक घटेर २६०० विन्दुभन्दा तल झरेको शेयर बजार मापक नेप्से आज बढेर पुनः २६०० विन्दु माथि उक्लिएको छ ।

आज नेप्से परिसूचक ३९.१३ अंक बढेर २६२१.८६ विन्दुमा पुगेको छ । नेप्से बढे पनि आज कारोबार रकम भने घटेको छ । हिजो ५ अर्बभन्दा बढीको शेयर कारोबार भएकोमा आज ४ अर्ब २० करोड ४४ लाख ८ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । आज माउन्टेन हाइड्रो नेपालको शेयरमूल्य सर्वाधिक ५.८५ प्रतिशतले वृद्धि भएको छ । यसैगरी, श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन र मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको शेयरमूल्य ५ प्रतिशतभन्दा बढीले बढेको छ । उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने आज सर्वाधिक ७.०९ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४१ करोड ८६ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, नेपाल पुनर्बीमा कम्पनीको साढे ३१ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको करिब २३ करोडको शेयर किनबेच भएको छ । आज १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये अन्य उपसमूहको परिसूचक सर्वाधिक २.०९ प्रतिशतले वृद्धि भएको छ ।

Facebook Comments