Thu. Mar 27th, 2025 03:10:06

तीन महिनापछि भोजपुरमा उडान सुरु   

टक्सार (भोजपुर), २०८१ चैत १२ गते मंगलबार । बन्द भएको तीन महिनापछि यहाँको भोजपुर नगरपालिका–१२ टक्सारस्थित विमानस्थलमा उडान सुरु भएको छ ।
गत पुसबाट बन्द विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले आजदेखि उडान सुरु गरेको नेपाल वायुसेवा निगम भोजपुरका स्टेशन प्रमुख प्रकाश खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार भोजपुरमा अब नयाँ तालिका अनुसार उडान हुनेछ ।

वि.सं. २०३५ देखि उडान सुरु भएको यहाँ नेपाल वायुसेवा निगमको जहाजले मात्र सेवा दिँदै आइरहेको छ । पाँच सय ४५ मिटर लम्बाइ र २० मिटर चौडाइको धावनमार्ग भएको विमानस्थलमा अन्य जहाजले उडान भर्दैनन् । उडान बन्द हुँदा जिल्ला अस्पतालबाट काठमाण्डू  रेफर गरिएका बिरामी र यात्रुहरु मारमा परेका थिए ।

निगमका दुई वटा साना विमानमध्ये एउटा मर्मत भइरहेको र मर्मत सकिएपछि उडानमा सहज हुने निगमले जनाएको छ ।   रासस

Facebook Comments