Sat. Mar 29th, 2025

शेयर बजारमा उच्च गिरावट

काठमाण्डू, २०८१ चैत १२ गते मंगलबार । शेयर बजारमा आज उच्च अंकको गिरावट आएको छ । हिजो २६ अंक बढेर बन्द भएको शेयर बजार मापक नेप्से आज भने घटेर बन्द भएको हो । नेप्से घटेसँगै परिसूचक २६०० विन्दुमुनि झरेको छ ।

नेप्से परिसूचक करिब साढे २ महिनापछि २६०० विन्दुमुनि झरेको हो । आज नेप्से परिसूचक ५८.०५ अंक घटेर २५८२.७३ विन्दुमा झरेको छ । नेप्से घटे पनि आज कारोबार रकम भने बढेको छ । हिजो ४ अर्ब ४८ करोडको शेयर खरिदबिक्री भएकोमा आज ५ अर्ब १८ करोड ७ लाख १८ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

आज नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक ८.७३ प्रतिशतले घटेको छ । यसैगरी, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयरमूल्य करिब साढे ७ प्रतिशत घटेको छ भने इस्टर्न हाइड्रोपावरको शेयरमूल्य ७ प्रतिशतभन्दा बढीले घटेको छ । कारोबार रकमका आधारमा आज हिमालयन रि इन्स्योरेन्स शीर्ष सनमा रहेको छ । सो कम्पनीको २३ करोड २० लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ ।

यसैगरी, नेपाल पुनर्बीमा कम्पनीको करिब साढे २१ करोडको शेयर खरिदबिक्री भएको छ भने युनाइटेड मोदी हाइड्रोपावरको साढे १७ करोडको शेयर किनबेच भएको छ । आज १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.५० प्रतिशतले घटेको छ ।

Facebook Comments