Mon. May 20th, 2024

कोरोना घटेन, नेपालमा हिँजो थप एक हजार ५ सय १३ जनामा संक्रमण

काठमाडौं, २०७७ असोज १४ गते बुधबार

नेपालमा विगत २४ घण्टामा थप एक हजार ५१३ जनामा कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा १० हजार ८९१ जनाको पीसीआर परीक्षण गर्दा ती व्यक्तिमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

नयाँ सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ७६ हजार २४८ पुगेको छ । यस्तै हालसम्म देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २० हजार ३९६ पुगेको छ ।

उपत्यकामा ९३४ सङ्क्रमण

गोरखापत्र अनलाईनका अनुसार काठमाडौँ उपत्यकामा थप ९३४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । काठमाडौँमा ७४७, भक्तपुरमा ७३ र ललितपुरमा ११४ जनामा कोरोना देखिएको हो । सोमबार उपत्यकामा ८१७ जनामा सङ्क्रमण देखिएकोमा मङ्गलबार थप सङ्ख्या बढेको हो । पछिल्लो २४ घण्टामा देशभर १० जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

यसैबीच काठमाडौँ महानगर क्षेत्रभित्र घर भाडामा लिई बसोबास गर्ने व्यक्ति तथा परिवारलाई पीसीआर परीक्षणका लागि बाध्य नबनाउन काठमाडौँ महानगरले घरधनीहरूलाई आग्रह गरेको छ । महानगरको जनस्वास्थ्य महाशाखाले मङ्गलबार अपिल जारी गर्दै कसैलाई पनि पीसीआर रिपोर्टका लागि बाध्य नबनाउन अनुरोध गरेको हो ।

Facebook Comments