Mon. Mar 31st, 2025 12:06:36

दक्षिण अफ्रिकाको उत्तरपूर्वी क्षेत्रमा बस पल्टिँदा १२ जनाको मृत्यु, ४५ जना घाइते   

जोहान्सबर्ग, २०८१ फागुन २८ गते बुधबार । दक्षिण अफ्रिकाको उत्तरपूर्वी गौतेङ प्रान्तमा मङ्गलबार बिहान एउटा बस पल्टिँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन् ।

“दुर्घटना स्थानीय समय अनुसार बिहान ६ः४५ बजे जोहानेसबर्गको ओआर ताम्बो अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको एकुरहुलेनी सहरको राजमार्गमा भएको थियो,” एकुरहुलेनी सहरको यातायातका लागि मेयर समितिका सदस्य एन्डिले मङ्गवेवुले बताउनुभयो ।

दुर्घटनामा परी कम्तीमा १२ जनाको घटनास्थलमै मृत्यु भएको थियो । पैँतालिस जना घाइते यात्रुलाई नजिकैका अस्पतालहरूमा लगिएको मङवेभुले बताउनुभयो ।

“मृतकका परिवारप्रति हाम्रो हार्दिक समवेदना र क्षेत्रका विभिन्न अस्पतालहरूमा लगिएकाहरूको शीघ्र स्वास्थ्यलाभको लागि प्रार्थना गर्दछौं ।”

मङ्वेबुका अनुसार दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ । दुर्घटनामा अन्य सवारी साधन पनि थिए वा थिएनन् भन्ने पुष्टि हुन बाँकी छ ।

एकुरहुलेनी सहरका प्रवक्ता ज्वेली ड्लामिनीले दुर्घटनामा परेको बस काटलेहोङबाट केम्प्टन पार्क जाँदै गरेको बताउनुभयो । “हामी घटनास्थलमा छौँ र शव निकाल्ने प्रक्रियामा छौँ ।”  सिन्ह्वा

Facebook Comments