विराट गोल्डकप-एपिएफ क्वार्टरफाइनलमा
मोरङ, २०८१ फागुन २० गते मंगलबार । विभागीय टोली सशस्त्र प्रहरी बल एपिएफ विराट गोल्ड कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको आज भएको खेलमा भारतको सुदेभा दिल्लीलाई ट्राइबेकर ५–३ गोलले पराजित गर्दै एपिएफ क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।
टाइबेकरमा एपिएफको तर्फबाट सुमन श्रेष्ठ, दीपेश धिमाल, मणिकुमार लामा, सविन गुरुङ र अनिल श्रेष्ठले गोल गरे । यस्तै दिल्लीका तर्फबाट राहिफ, पिसि र उदितले मात्र गोल गर्न सफल भएका थिए । खेलको प्लेयर अफ द म्याच एपिएफका अञ्जल श्रेष्ठलाई रु ११ हजार नगद प्रदान गरियो ।
भोलि हुने पहिलो क्वाटरफानलमा रिजालको मोरङ र नेपाली सेनाको त्रिभुवन आर्मी क्लबबीच साँझ ६ः३० बजे हुने छ । प्रतियोगितामा भारतका दुई र नेपालका विभागीय टिमसहित १० वटा टिम सहभागी छन् ।
प्रतियोगितको विजेतालाई नगद रु ११ लाख, उपविजेतालाई रु पाँच लाख, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही रु १५ हजार, दैनिक हुने खेलको उत्कृष्ट खेलाडीलाई रु ११ हजार र सर्वोत्कृष्ट खेलाडीलाई रु ५१ हजार नगद पुरस्कार प्रदान गरिनेछ ।

