Mon. May 25th, 2026

कूटनीतिक कौशलमा निपूर्ण सेना आजको आवश्यकताः उपराष्ट्रपति यादव   

       

काठमाण्डू, २०८१ फागुन १४ गते बुधबार । उपराष्ट्रपति रामसहायप्रसाद यादवले अत्याधुनिक प्रविधि, सीपले सुसज्जित, अध्ययन–अनुसन्धानमा पारङ्गत र कूटनीतिक कौशलमा निपूर्ण सेना आजको आवश्यकता भएको बताउनुभएको छ ।

सेना दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले भन्नुभयो, “नेपाली सेनाका लागि आवश्यक सैन्य सामग्री र प्रविधि नेपालमा उत्पादन नहुने र आफ्नै आर्थिक प्राविधिक क्षमताले थेग्न नसकेर दक्षता, सवलीकरण र आधुनिकीकरण गर्ने प्रक्रियामा परनिर्भरता बढ्दै जानु राष्ट्रिय हितको दृष्टिमा गैरअनुकूलित र संवेदनशील विषय भएकाले यसमा सम्बन्धित सबैको ध्यान पुग्न सक्नुपर्दछ ।”

महाशिवरात्रि सेना दिवसका अवसरमा उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं सु–स्वास्थ्यका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

राससका अनुसार  उपराष्ट्रपति यादवले दिवसले सेनाहरुको साहस, वीरता, समर्पण र बलिदानलाई स्मरण गर्ने अवसर प्रदान गर्ने उल्लेख गर्दै सेनाले राष्ट्र सुरक्षा र सम्मानको रक्षा गर्ने उल्लेख गर्नुभएको छ । नेपाली सेना साहसी र समर्पित भावले काम गरिरहेको उहाँको भनाइ छ ।

“सेना दिवसका अवसरमा हामी सबै मिलेर देशको सुरक्षा र विकासमा योगदान दिने सङ्कल्प लिन सक्नुपर्दछ । सेनाले मुलुकलाई बाहिरी शत्रुबाट रक्षा गर्नुका साथै विभिन्न प्राकृतिक प्रकोप र विपद्को घडीमा देश र समाजलाई सहयोग गर्दै आएको छ”, उहाँले भन्नुभएको छ ।

Facebook Comments