Mon. May 6th, 2024

प्याज ब्यापारीहरुले वाणिज्यमन्त्री भट्टलाई पनि ठगे

काठमाडौं, २०७७ असोज १ गते बिहीबार

बजारमा एक्कासी प्याजको मूल्य अकासिएको सार्वजनिक भएसँगै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट बुधबार बिहान आफैँ ग्राहक बनेर बजार अनुगमनमा निस्किए । सुरक्षा गार्डबिनै ग्राहकको रुपमा पहिला मन्त्री भट्ट लगनखेल पुगे । उनले त्यहाँका व्यापारीबाट आफूहरूले बल्खु र कालीमाटी बजारबाट महँगोमा प्याज किनेको बताएपछि उनी उतैतिर लागे । सामान्य पोशाकमा स्थगलत अनुगमन गर्न गएका भट्टले कालीमाटी र बल्खु बजारका विभिन्न पसलमा गरेर ५० केजीभन्दा बढी प्याज किने ।

एक साता अघिसम्म प्रतिकेजी ५० रुपैयाँ मूल्य रहेको प्याजको भाउ पछिल्लो समयमा बढेको छ । बुधबार प्याज बिक्री गर्ने अधिकांश पसलेले मन्त्री स्वयं अनुगमनमा आएको पत्तै पाएनन् । मन्त्री पनि ग्राहकको रुपमा प्याज किन्दै गए र १ सय ५० रुपैयाँसम्ममा किने । उनले बजारमा गएर १ सय १० रुपैयाँदेखि १ सय ५० रुपैयाँसम्म किनेका थिए । “प्याजको मूल्य महँगो पारेर व्यापारीले बदमासी गरिरहेको गुनासो आएपछि स्थलगत अनुगमन गर्न गएको थिएँ, म आफैंले किन्दा प्रतिकेजी एक सय १० रुपैयाँ देखि १ सय ५० रुपैयाँसम्म होलसेल मूल्यमा बिक्री गरेको फेला पारेँ,” उनले भने, “व्यवसायीले दोब्बर-तेव्बर मूल्यमा प्याज बिक्री गरेर ठगी गरेको गुनासो आएपछि प्रमाणका लागि गएको थिएँ, प्रमाण पनि पाएँ ।”

कालोबजारी गरेको फेला परेपछि तत्काल तीन जनालाई पक्राउ गरी पठाइएको र अन्य व्यवसायीका हकमा भने वाणिज्य विभागलाई आवश्यक कारबाही गर्न निर्देशन दिएको मन्त्री भट्टले जानकारी दिए । मन्त्री भट्टले कालीमाटीका अधिकांश प्याज पसलले बढी मूल्य लिएर उपभोक्ता ठगी गरेको अनुमगनका क्रममा फेला परेको जानकारी दिए । अधिकांश पसलले कृत्रिम अभाव गराएर मूल्य बढाएको फेलापरेपछि सबैलाई कारबाही गर्न निर्देशन दिएको उनले जानकारी दिए ।

भारतले सोमबार प्याजको आयात रोकिएपछि व्यवसायीले बजारमा कृत्रिम अभाव गराएर कालोबजारी गरेका छन् । साताअघि प्रतिकेजी ५० रुपैयाँ रहेको प्याजको मूल्य बढेर १५० रुपैयाँसम्म पुगेको छ । कृत्रिम अभाव देखाएर मूल्य बढाउँदा त्यसको प्रत्यक्ष असर आम उपभोक्तालाई परेको छ ।

व्यवसायीले टेरेनन् कर्मचारीलाई
वाणिज्य तथा आर्पूिर्त व्यवस्थापन विभागका कर्मचारी बुधबार कालीमाटी, बल्खु, तिनकुने लगायतका प्याज पसलमा अनुगमन गर्न पुगेका थिए । अनुगमन टोलीले विभिन्न १० वटा प्याज पसलमा अनुगमन गरेका थिए । सरकारी टोली अनुगमन गर्न जाँदा अधिकांश स्टलका व्यापारी भने भागेका थिए । कतिपय पसलमा व्यवसायीहरू संगठित भएर अनुगमनमा अवरोध गरेकाले अनुगमनका लागि थप सुरक्षाकर्मीको आवश्यक परेको विभागका निर्देशक रवीन्द्र आचार्यले जानकारी दिए । अनुगमन गर्न व्यवसायीले नै अवरोध गरेको उनले जानकारी दिए । व्यवसायी नभएको स्टल छोडेर हिडेको अवस्था, संगिठन रुपमा आएकाले पनि अनुगमन गर्न समस्या परेको उनले जानकारी दिए । बुधबार कालीमाटी बजारमा ६ वटा र बल्खुका एउटा व्यवसायीलाई कारबाही गरिएको विभागले जानकारी दिएको छ ।

यसैबीच, काठमाडौ महानरपालिका, कृषि विभाग र उपभोक्ता अधिकारकर्मीको संयुक्त अनुगमन टोलीले बुधबार अनुगमनका क्रममा बल्खुको एस के सप्लार्यस र चुली सगरमाथा ट्रेर्डसले कालोबजारी गरेको फेला गरेको छ । एस के सप्लार्यसमा १९ बोरा चुली सगरमाथा ट्रेर्डसमा दुई सय बोरा प्याज शिल गरिएको छ । बजारमा प्याजको पर्याप्त स्टक भए पनि कृत्रिम अभाव गराएर व्यवसायीले मूल्य बढाएको पाइएको छ । चुली सगरमाथा इन्टरप्राइजेजका संचालक दीपेन्द्र केसी र एस के सप्लायर्सका सुनिल केसीलाई पक्राउ गरिएको महानगरपालिकाले जानकारी दिएको छ ।

अनुगमनको क्रममा ४८ रुपैयाँमा खरिद गरेको प्याज १ सय २० रुपैयाँमा बिक्री गरेको भेटिएको थियो । मंगलबार बिहान प्रतिकिलो ४५ देखि ५० रुपैयाँसम्ममा प्याज बिक्री भएकोमा बुधबार बिहान १ सय ५० रुपैयाँ पु¥याइएको छ । कारोबार दैनिकबाट

Facebook Comments