Thu. May 21st, 2026

चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा मैत्रीपूर्ण फुटबल हुने

       

काठमाण्डू, २०८१ माघ २९ गते मंगलबार । नेपाल र चीनको युननान प्रान्तको युवा टोलीबीच काठमाण्डूको दशरथ रङ्गशालामा मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आयोजना हुने भएको छ ।

फागुन ३ गते हुने सो प्रतियोगिता चिनियाँ नयाँ (सर्प) वर्षको उपलक्ष्यमा नेपाल स्थित चिनियाँ राजदूतावास, राष्ट्रिय खेलकुद परिषद् (राखेप), अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र नेपाल ओभरसिज चीनियाँ सङ्घले संयुक्त रूपमा आयोजना हुन लागेको हो ।

दुई देश बीचको भाइचारा र फुटबल संस्कृतिको विकास गर्न दोस्रो पटक नेपालमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरिन लागिएको आइतबार आयोजित पत्रकार सम्मेलनमा नेपालस्थित चिनियाँ राजदूतावासका डेपुटी चिप अफ मिसन वाङ सिङले जानकारी दिनुभयो।

राससका अनुसार  मैत्रीपूर्ण खेलका लागि एन्फाले राजेश शाहीको नेतृत्वमा ४५ सदस्यीय खेलाडी टोली अहिले बन्द प्रशिक्षणमा रहेको छ। चीनको युननान टोलीले एक वर्ष अघिदेखि तयारी गरिरहेको पनि पत्रकार सम्मेलनमा वाङले जानकारी दिनुभयो।

गतवर्ष नेपालसँग फराकिलो हार खेपेकोले यसपटक राम्रो तयारी गरेको चिनियाँ टोलीको भनाइ छ। गतवर्ष दशरथ रङ्गशालामै भएको खेलमा नेपाली यु-२३ टोलीले चिनियाँ टोलीलाई ५-१ गोलले हराएको थियो।

नेपालले यसपटक यु-२० टोली खेलाउने तयारी गरेको छ। मैत्रीपूर्ण खेलसँगै रङ्गशालामा नेपाल र चीनको विभिन्न सांस्कृतिक कार्यक्रम पनि हुने बताइएको छ। चिनियाँ फुटबल टोली फागुन १ गते काठमाण्डू आउने कार्यक्रम रहेको छ ।

Facebook Comments