Mon. Feb 16th, 2026

चीनले विकास गर्यो पुनः प्रयोग योग्य अन्तरिक्ष यान

       

काठमाडौं, २०७७ भदौं २२ गते सोमबार

चीनले विकास गरेको पुनः प्रयोग गर्न सकिने अन्तरिक्ष यान दुई दिनसम्म अन्तरिक्ष कक्षमा रहेर आइतबार सफलतापूर्वक पृथ्वीमा अवतरण गरेको छ । अन्तरिक्ष यात्रालाई सस्तो बनाउने सन्दर्भमा यो एउटा महत्वपूर्ण पाइला भएको चीन सरकारले घोषणा गरेको छ ।

उक्त यान गत शुक्रबार जिक्वान भूउपग्रह प्रक्षेपण केन्द्रबाट अन्तरिक्षमा पठाइएको थियो । तर गोप्य रुपमा विकास गरिएको यस अभियानका बारेमा विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन ।

चीनको सरकारी समाचार समाचार संस्था सिन्ह्वाले एक अधिकारीको भनाई उद्धृत गर्दै उक्त यान जिक्वान अन्तरिक्ष केन्द्रमा सफलतापूर्वक अवतरण गरेको जनाएको छ । तर यानको तस्वीर भने प्रकाशन गरिएको छैन, न त यानको आकार र प्रकारका बारेमा नै केही बताइएको छ । सिन्ह्वाले यस अभियानको सफलताले चीनको अन्तरिक्ष यात्रामा एउटा महत्वपूर्ण कोशेढुंगा हासिल भएको जनाएको छ ।

चीनले यसअघि सन् २००३ मा पहिलो पटक अन्तरिक्षमा एक व्यक्तिलाई पठाएको थियो । गत वर्ष चीनले चन्द्रमाको सबैभन्दा टाढाको स्थानमा रोभर रोबोट अवतरण गराएको थियो ।

अर्को यस्तै खोज रोबोट अहिले मंगलग्रहमा पठाइएको छ । संयुक्तराज्य अमेरिका र रसिया दुई मुलुकले मात्र हालसम्म पुनः प्रयोग योग्य अन्तरिक्ष यान निर्माण गर्ने सफलता प्राप्त गरेका छन् । कारोवार दैनिक अनलाईनबाट

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read
1 min read