Fri. Apr 26th, 2024

कोरोनाबाट मृत्यु हुनेको संख्या ३०० पुुग्यो, २४ घण्टामा थप ११ जनाको मृत्यु

- उपत्यकामा ३२६ जनामा कोरोना सङ्क्रमण

काठमाडौं, २०७७ भदौं २२ गते सोमबार

 नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०० पुगेको छ । कोरोना संक्रमणबाट २४ घण्टामा थप ११ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्युको औपचारिक रुपमा पुष्टि गरेको छ ।

मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले मृतकमा ४ जना महिला र ७ जना पुरुष रहेको बताए ।

कान्तिपुर अनलाईनका अनुसार मृत्यु हुने महिलामा काठमाडौँका ३ जना रहेका छन् । ३७ वर्षीया, ९० वर्षीया र ८३ वर्षीया महिलाको कोरोनाले मृत्यु भएको हो ।त्यसैगरी कास्कीकी ६३ वर्षीया महिलाको पनि मृत्यु भएको छ ।

मोरङका ७६ वर्षीय, सिरहाका ८७ वर्षीय, ६२ वर्षीय,सर्लाहीका ३५ वर्षीय, दोलखाका ६९ वर्षीय, मकवानपुरका ३९ वर्षीय र बाँकेकाा ५९ वर्षीय गरी ७ जना पुरुषको कोरोनाले मृत्यु भएको हो ।

काठमाडौं उपत्यकामा ३२६ जनामा कोरोना सङ्क्रमण

काठमाडौं उपत्यकामा कोभिड-१९ का ३२६ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामा पछिल्लो चौबीस घण्टामा ३२६ जना सङ्क्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार काठमाडौंमा २९३, ललितपुरमा २० र भक्तपुरमा १३ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । थपिएका नयाँ सङ्क्रमितमध्ये काठमाडौंमा १०२ महिला र १९१ पुरुष, ललितपुरमा सात महिला र १३ पुरुष तथा भक्तपुरमा छ महिला र सात जना पुरुष छन् ।

मन्त्रालयले दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो चौबीस घण्टामा नाँै हजार २१८ जनाको आरटीपीसीआर परीक्षण गरिएको जनाएको छ । पछिल्लो चौबीस घण्टामा एक हजार ७३६ जना सङ्क्रमित निको भई घर फर्केका छन् । निको हुने कुल सङ्क्रमितको ६५ प्रतिशत हो भनि गोरखापत्र अनलाईनले समाचार लेखेको छ ।

Facebook Comments