भव्य रुपमा ‘नेपाल भ्रमण वर्ष, २०२५’ शुभारम्भ
- नेपाल भ्रमण वर्ष २०२५’
भक्तपुर, २०८१ माघ ५ गते शनिबार । संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय, चिनियाँ राजदूतावास, भक्तपुर नगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा ‘नेपाल भ्रमण वर्ष २०२५’ को घोषणा तथा ‘चिनियाँ नयाँ वर्ष २०२५’ को आज शुभारम्भ भएको छ ।

भक्तपुर नगरपालिकाद्वारा शनिबार भक्तपुर दरबारस्क्वायरमा आयोजित नेपाल भ्रमण वर्ष २०२५ तथा चिनियाँ नयाँ वर्ष साँस्कृतिक महोत्सवमा भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनिल प्रजापति, नेपालका लागि चिनियाँ राजदूत छन सङ, नेपाली र चिनियाँ कलाकार सामूहिक तस्बिरमा। तस्बिर : चन्द्रकला क्षेत्री/रासस
भक्तपुर दरबारस्क्वायमा आज आयोजित कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का र नेपालका लागि चिनियाँ राजदूत छन् सोङले संयुक्त रूपमा भ्रमण वर्षको उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा मन्त्री खड्काले अन्तर्राष्ट्रिय पर्यटकका लागि नेपाल उत्कृष्ट गन्तव्यस्थलको रूपमा रहेको बताउनुभयो । उहाँले दुई देशबीच आर्थिक, सामाजिक र राजनीति सम्बन्ध विस्तार गर्न नेपाल सरकारको तर्फबाट सक्दो पहल गरिने बताउँदै कोभिड महामारीपश्चात् नेपालको पर्यटन क्षेत्र चलायमान बनिरहेको उल्लेख गर्नुभयो ।

भक्तपुर, ५ माघः भक्तपुर नगरपालिकााद्वारा शनिबार आयोजित ‘नेपाल भ्रमण वर्ष २०२५ तथा चिनियाँ नयाँ वर्ष सांस्कृतिक महोत्सव’मा गीत गाउँदै चिनियाँ कलाकार। तस्बिरः रत्न श्रेष्ठ/रासस
अहिले सुरु गरिएको भ्रमण वर्षले नेपाल र चीनबीच पर्यटन, ऊर्जा र कृषि क्षेत्रमा आवश्यक सहकार्य गर्न सकिने विश्वास मन्त्री खड्काले व्यक्त गर्नुभयो । “पर्यटन क्षेत्रको विकासमा आवश्यक पूर्वाधार निर्माण तथा स्तरोन्नतिका काम भइरहेकाका छन्”, उहाँले भन्नुभयो, “गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनुका साथै त्रिभुवन विमानस्थल र अन्य आन्तरिक विमानस्थलको स्तरोन्नति र विस्तार कार्य भइरहेको छ ।”

नेपालको सामाजिक, आर्थिक विकासमा पर्यटन क्षेत्रको सम्धावना र महत्वलाई ध्यानमा राख्दै नेपाल सरकारले पर्यटन क्षेत्रलाई उच्च प्राथमिकता दिएर योजनाबद्ध रूपमा काम गरिरहेको मन्त्री खड्काले जानकारी दिनुभयो । प्रदेश र स्थानीय तहले पनि पर्यटन क्षेत्रलाई नेपालको आर्थिक समृद्धिको साझा माध्यमका रूपमा प्राथमिकतामा राख्दै आएका उहाँले बताउनुभयो ।

भक्तपुर , ५ माघः भक्तपुर नगरपालिकाको आयोजनामा शुक्रबार भक्तपुर आयोजित नेपाल भ्रमण वर्ष २०२५ तथा चिनियाँ नया वर्ष सांस्कृतिक महोत्सवमा बासुरीको धुन प्रस्तुत गर्दै स्थानीय बासिन्दा । तस्बिरः रत्न श्रेष्ठ/रासस
नेपालका लागि चिनियाँ राजदूत छन् सोङले भ्रमण वर्ष २०२५ ले दुई देशबीचको सम्बन्धलाई अझै मजबुद बनाउने बताउनुभयो । नेपाल र चीनबीच आपसी सहयोग आदानप्रदान तीव्र गतिमा अगाडि बढिरहेको बताउँदै उहाँले नेपाल–चीनबीच युवा, शिक्षा, संस्कृति, पर्यटनलगायत क्षेत्रमा भइरहेका सहकार्यलाई सुदृढ गर्ने, मानवीय सम्बन्धलाई थप प्रगाढ बनाउने र पुस्तौँपुस्तादेखिको मित्रतालाई निरन्तरता दिने विषयमा सहमति भएको छन् सोङले उल्लेख गर्नुभयो ।

दुई देशबीच भएका सहमति कार्यान्वयनको सिलसिलामा भ्रमण वर्ष २०२५ आयोजना गरिएको राजदूत छन् सोङले बताउनुभयो । “सन् २०२५ मा नेपाल पर्यटन वर्ष प्रवर्द्धनात्मक गतिविधि आयोजना गर्न नेपाललाई चीनमा हार्दिक स्वागत गर्दै चिनियाँ पर्यटकलाई नेपाल भ्रमण गर्न प्रोत्साहित गर्नेछौँ”, उहाँले भन्नुभयो, “यसबाट नेपालको पर्यटन क्षेत्रलाई अगाडि बढाउन र दुई देशबीचको सांस्कृति आदानप्रदान एवं सहकार्यलाई थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्दछौँ ।”
नेपाल र चीनबीच विगतमा भएका सहमतिको कार्यान्वयन गर्नु, दुई देशबीचको पर्यटन क्षेत्रमा भएका सहकार्यलाई थप उचाइमा पु¥याउन र दुई देशबीचको मानवीय सम्बन्धलाई अझ प्रगाढ बढाउन नेपाल पर्यटन वर्ष २०२५ आयोजना गरिएको राजदूत छन् सोङको भनाइ थियो ।

भक्तपुर, ५ माघः भक्तपुर नगरपालिकााद्वारा शनिबार आयोजित ‘नेपाल भ्रमण वर्ष २०२५ तथा चिनियाँ नयाँ वर्ष सांस्कृतिक महोत्सव’मा नृत्य प्रस्तुत गर्दै चिनियाँ कलाकार। तस्बिरः रत्न श्रेष्ठ/रासस
नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल रहेको बताउँदै यहाँका उच्च हिमालय, पर्वत शृङ्खला, चितवन राष्ट्रिय निकुञ्जको प्राकृतिक सौन्दर्यता, लुम्बिनी, काठमाण्डू, जनकपुरजस्ता प्राकृतिक साथै सांस्कृतिक र ऐतिहासिक सम्पदाले प्रत्येक वर्ष विभिन्न देशका पर्यटकलाई नेपाल भ्रमण गर्न आकर्षित गर्दै आएको उहाँले धारणा राख्नुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सन् १९५५ मा नेपाल–चीनबीच दौत्य सम्बन्ध स्थापना भएको स्मरण गर्दै चीनले नेपालको पर्यटन प्रवर्द्धन गर्ने तथा चिनियाँ पर्यटकलाई नेपाल भ्रमण गर्न प्रेरित गर्ने उद्देश्यले घोषणा गरिएको ‘नेपाल भ्रमण वर्ष २०२५’ सफल पार्न सबैको सहयोग र समन्वय आवश्यक पर्ने बताउनुभयो ।

भक्तपुर, ५ माघः भक्तपुर नगरपालिकााद्वारा शनिबार आयोजित ‘नेपाल भ्रमण वर्ष २०२५ तथा चिनियाँ नयाँ वर्ष सांस्कृतिक महोत्सव’मा ड्राईगन डान्स प्रस्तुत गर्दै कलाकार। तस्बिरः रत्न श्रेष्ठ/रासस
नेपाल पर्यटकीय दृष्टिले अत्यन्त सम्भावना भएको देश हो भन्दै नगरप्रमुख प्रजापतिले विश्वको उच्च सगरमाथा र अन्य हिमालय पर्वत, प्राकृतिक सुन्दरता, बुद्ध जन्मभूमि लुम्बिनी र विश्व सम्पदामा सूचिकृत थुप्रै स्थल नेपालमा रहेकाले यहाँको पर्यटन प्रवर्द्धनमा सबैले सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो । मुलुकमा रहेका पर्यटकीय स्थलको प्रभावकारी र समयसापेक्ष प्रचारप्रसार नहुँदा आशातित पर्यटक आउन नसकेका उहाँले बताउनुभयो ।
चिनियाँ पर्यटक भक्तपुर भ्रमण गर्ने विदेशी पर्यटकमध्ये सङ्ख्यामा दोस्रोमा पर्ने बताउँदै नगरप्रमुख प्रजापतिले चिनियाँ सरकारका उच्च पदस्थ पदाधिकारीद्वारा हुने नेपाल भ्रमणमा भक्तपुरलाई पनि प्राथमिकतामा राखेर अवलोकन गर्न आग्रह गर्नुभयो ।

नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दिपकराज जोशीले सरकारले सन् २०२५ लाई विशेष पर्यटन वर्षका रूपमा घोषणा गरेको भन्दै भ्रमण वर्ष सफल पार्न सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा पहिलो र दोस्रो चरण गरी भक्तपुर र चिनियाँ जनजीवन झल्काउने सांस्कृतिक गीत र नाच प्रस्तुत गरिएको थियो । साथै दरबार क्षेत्रबाट टौमढीसम्म सांस्कृतिक र्याली आयोजना गरिएको थियो ।

