कर्जा सचेतना सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न
रमेश हतुवाली/काठमाण्डू, २०८१ माघ ५ गते शनिबार । काठमाण्डूको टोखा नगरपालिकामा कर्जा सचेतना सम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । टोखा विकास अनुसन्धान समाज, टोखा-१०, काठमाण्डूको आयोजना र नबिल बैक लिमिटेड काठमाण्डूको प्रायोजनमा सो कार्यक्रमको आयोजना गरिएको हो ।
प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेलले बैंक जुन दिशातिर जान्छ देशको अर्थतन्त्र पनि त्यतैतिर जाने हुनाले मुलुकको समृद्धि र विकासका लागि बैंक तथा वित्तिय संस्थाहरुले समाजमा सकारात्मक सन्देश दिनुपर्ने बताउनुभयो । बैंकबाट कर्जा लिएर ठूलाठूला व्यवसायहरुमा सफलता हासिल गरेका अनुभवहरु सुनाउनुहुँदै अध्यक्ष पौडेलले बैंकबाट जुन कामका लागि कर्जा लिएको हो सोही काममा रकम खर्च गरे कर्जा नडुब्ने बताउनुभयो ।


टोखा विकास अनुसन्धान समाजका अध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पूर्वसञ्चालक रामजी रेग्मीले कोरोना महामारीपछिको विश्वको अर्थतन्त्र कठीन अवस्थामा रहेको बताउनुभयो । कर्जा लिने, कर्जाको सही सदूपयोग पनि नगर्ने र कर्जा नतिर्न पाए हुन्थ्यो भन्ने बातावरण देशमा देखिएको जानकारी दिनुहुँदै अध्यक्ष रेग्मीले एकजनाले बैंकको कर्जा समयमै नतिर्दा अर्कोले कर्जा लिन नपाउने अवस्था सृजना हुने भएको हुनाले समयमै कर्जा तिर्र्नुपर्ने धारणा व्यक्त गर्नुभयो । राज्य सञ्चालन दिनानुदिन बोझिलो बन्दै गएको जानकारी दिनुहुँदै अध्यक्ष रेग्मीले देशको अर्थतन्त्र वलियो बनाउन मन्त्री र मन्त्रालयहरुको अनावश्यक संख्या घटाउन माग गर्नुभयो ।
आई.एम.ई. शहकारी संस्थाका अध्यक्ष योगेश्वर ढकालले ऋण प्रवाह गर्ने बैंकहरुको संख्या धेरै भएको र कर्जा पनि धेरै प्रवाह भएको हुनाले कर्जाको सही सदूपयोग हुन नसकेको बताउनुभयो ।

कार्यक्रममा टोखा विकास अनुसन्धान समाजका उपाध्यक्ष अन्जना कुमारी रावल, टोखा नगरपालिका वडा नम्वर ६ का वडा अध्यक्ष शान्ता पौडेल, पूर्वशिक्षक तोयानाथ पौडेल, टोखा विकास अनुसन्धान समाजका सदस्य मन वल्लभ वाग्ले लगायतले कर्जा, कर्जाको सदूपयोग र कर्जाबाट लिन सकिने फाईदा लगायतका विविध विषयमा बोल्नु भएको थियो ।

कर्जा लिएर तिर्नु पर्दैन भन्ने मानसिकता झाङ्गिदै गएको वर्तमान अवस्थमा कर्जा समयमै नतिर्दा व्यत्तिले मात्र नभएर सिंगो देशले नै कसरी विभिन्न समस्याहरु झेल्नुपर्छ भन्ने लगायतका विषयमा गरिएको प्रशिक्षण महत्वपूर्ण र समयसापेक्ष भएको सहभागीहरुले बताएका छन् ।

