Tue. Jan 14th, 2025

आज जैविक विविधता दिवस मनाइँदै   

ललितपुर, २०८१ माघ १ गते मंगलबार । ‘स्वस्थ जीवन र पर्यावरणका लागि कृषि जैविक विविधता’ भन्ने मूल नाराका साथ तेस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाउन लागिएको छ । कृषि विभागले यही माघ पहिलो साताभर विविध कार्यक्रम आयोजना गरी तेस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाउन लागेको हो ।

वि.सं २०७९ भदौ २७ गते मन्त्रिपरिषद्बाट प्रत्येक वर्षको माघ १ गतेलाई राष्ट्रिय कृषि जैविक विविधता दिवसका रूपमा मनाउने निर्णयबमोजिम यो वर्ष पनि कृषि विभागले विविध कार्यक्रम गरी दिवस मनाउन लागेको सोमबार ललितपुरमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

माघको पहिलो साताभर मनाइने उक्त दिवसले नेपालमा परम्परागत रूपमा रहेका अनेकौँ जातजाति, धार्मिक एवं संस्कृतिक परम्परासँग सम्बन्धित कृषि र खानाका परकार तथा सम्बद्ध सीपको जगेर्ना गर्न मद्दत पुर्‍याउनुका साथै स्थानीय कृषि आनुवंशिक स्रोतहरूको संरक्षण एवं दिगो उपयोग, वातावरण संरक्षणमा टेवा पुर्‍याउने अपेक्षा गरिएको कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले बताउनुभयो ।

कृषि जैविक विविधताको महत्वसहित यसको संरक्षणबारे जनचेतनामूलक कार्यक्रमको आयोजना गरिनुका साथै प्रादेशिक निकाय, स्थानीय तहलगायत सरकारी तथा गैरसरकारी संस्थालाई कार्यक्रम सञ्चालन गरी दिवस मनाउन पत्राचार गरिएको उहाँले जानकारी दिनुभयो ।

यसको महत्वबारे सर्वसाधारणमा जनचेतना जगाई दिगो संरक्षण तथा उपयोगमा टेवा पु¥याउने, तीनै तहका सरकारको विकास, नीति एवं कार्यक्रममा कृषि जैविक विविधतालाई मूल प्रवाहीकरण गर्ने, दिगो रूपमा कृषि जैविक विविधता संरक्षण र उपयोगका लागि उपयुक्त विधि एवं पद्धतिहरूको विकास, अवलम्बन प्रक्रियालगायत उद्देश्यसहित दिवस मनाइने विभागका महानिर्देशक सञ्जेलले उल्लेख गर्नुभयो ।

राससका अनुसार जैविक विविधतामा आधारित रहेर कृषि आनुवंशिक स्रोतहरू, कृषिबाली एवं सम्बन्धित जङ्गली प्रजाति, घाँसेबाली, पशुपन्छी, मत्स्य एवं जलीय आनुवंशिक स्रोत, कृषि महत्वका कीरा र कृषि महत्वका सुक्ष्म जीव र कृषकका परम्परागत ज्ञानको संरक्षणमार्फत स्वस्थ जीवनयापनका लागि उपयुक्त पर्यावरण बनाउन सचेतना अभिवृद्धिसहित सप्ताहव्यापी रूपमा विविध कार्यक्रम आयोजना गर्न लागिएको उहाँले बताउनुभयो । दिवस मनाउन सातै प्रदेश मातहतका निकाय र सबै स्थानीय तहका कृषक समूहलगायत सरोकार भएका निकायलाई कृषि विभागले आह्वान गरेको छ ।

 कहाँ केके कार्यक्रम हुँदैछन् ?   

आज कृषि तथा पशुपन्छी विकास मन्त्रालयका मन्त्रीबाट शुभकामना सन्देश सम्प्रेषण हुनेछ । आजै कृषि जैविक विविधता संरक्षण र दिगो उपयोगका बारेमा टेलिभिजन सम्वाद कार्यक्रम गरिने, कृषि जैविक विविधता मेला भूमिकास्थान नगरपालिका, अर्घखाँचीमा सञ्चालन हुनेछ भने टोखा नगरपालिकामा जैविक विविधता दिवस तथा माघे सङ्क्रान्ति मेला आयोजना हुने विभागले जनाएको छ ।

माघ २ गते कृषि विभाग परिसर हरिहर भवन ललितपुरमा राष्ट्रिय कृषि जैविक विविधता दिवस मूल समारोहसँगै कृषि जैविक विविधता एवं परम्परागत कृषिउपज प्रदर्शनी र सम्मान एवं पुरस्कार वितरण हुनेछ । सोही दिन भूमिकास्थान नगरपालिकामा कृषि जैविक विविधता अभिलेखीकरणसम्बन्धी अन्तरक्रिया आयोजना हुनेछ ।

माघ १ देखि ७ गतेसम्म सिराह, सप्तरी र सुर्खेत जिल्लाका विभिन्न स्थानीय तहमा कृषि वैविक विविधता संरक्षण, प्रवर्द्धन र सोसम्बन्धी कृषक पाठशाला सञ्चालनबारे अन्तरक्रिया हुनेछ । माघ १ गतेदेखि ७ गतेसम्म मौलिक भान्छाघर, नयाँ बानेश्वरमा सातै प्रदेश विशेषका मौलिक खाद्य परिकार प्रवर्द्धन वर्ष शुभाराम्भ र मौलिक परिकार प्रदर्शन एवं बिक्री गरिनेछ ।

माघ १ गतेदेखि ७ गतेसम्म कैलाली, कञ्चनपुर, बर्दिया, दैलेख, सुर्खेत, जुम्ला, सिन्दुपाल्चोक र कास्कीलगायतका जिल्लामा कृषि जैविक विविधता मेला तथा प्रदर्शनी, कृषि जैविक विविधताको महत्वसम्बन्धी अन्तरक्रिया र माध्यमिक तहका विद्यार्थीबीच वक्तृत्वकला प्रतियोगिता सञ्चालन हुने विभागका महानिर्देशक सञ्जेलले उल्लेख गर्नुभयो ।

माघ ५ गते रैथाने कृषि हाटबजार दरबार मार्गमा ‘रैथाने सबैका लागि, सदाका लागि’ विषयक छलफल तथा प्रदर्शनी आयोजना हुनुका साथै माघ ५ र ६ गते ललितपुरको कोञ्जोस्योम गाउँपालिका–३ दलचोकीमा ‘दलचोकी सामुदायिक बीउ बैंक तथा कृषि जैविक विविधता सूचना केन्द्र’को उद्घाटन तथा अन्तरक्रिया आयोजना गरिने उहाँले जानकारी दिनुभयो ।

मा ७ गते सङ्खुवासभाको भोटखोला गाउँपालिकामा कृषि जैविक विविधताको महत्वबारे अगुवा किसान अभिमुखीकरण कार्यक्रम सञ्चालन हुनेछ । सोही दिन कपनमा कृषि जैविक विविधता एवं मौलिक खाद्य परिकारको महत्वबारे अन्तरक्रिया एवं तेस्रो राष्ट्रिय कृषि जैविक विविधता सप्ताह समापन कार्यक्रम आयोजना गरिने विभागका महानिर्देशक सञ्जेलले जानकारी दिनुभयो ।

Facebook Comments