Wed. Jan 15th, 2025

देश र जनताप्रति केन्द्रित भएर काम गर्नु पिएसबीको दायित्व होः मन्त्री गुरुङ   

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङ, राष्ट्रिय योजना आयोगका सदस्य प्राडा शिवराज अधिकारी, सार्वजनिक सेवा प्रसारण नेपाल, अध्यक्ष डा. महेन्द्र विष्टलगायत मङ्गलबार नेपाल टेलिभिजन र रेडियो नेपाल एकीकृत गरी प्रसारण संस्थाको रूपमा रहेको सार्वजनिक सेवा प्रसारण नेपालको पूर्वारम्भ कार्यक्रममा सहभागी हुँदै। तस्बिरः रत्न श्रेष्ठ/रासस

काठमाण्डू, २०८१ माघ १ गते मंगलबार । सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समावेशी चरित्रलाई आत्मसात् गर्दै जनताको सूचनाको हक प्रत्याभूत गराउनु सार्वजनिक सेवा प्रसारण संस्था (पिएसबी) मुख्य दायित्व भएको बतानुभएको छ । साथै उहाँले पिएसबी जनता र देशप्रति केन्द्रित रहेर समावेशिताको ऐना बन्नुपर्नेमा जोड दिनुभयो ।

साबिक नेपाल टेलिभिजनमा आज भएको पिएसबीको पूर्वारम्भ कार्यक्रममा उहाँले पिएसबी सबै वर्ग, क्षेत्र, भषाभाषी, जातजाति र क्षेत्रको विविधता झल्कने समावेशिता र समानताको ऐना बन्नुपर्ने बताउनुभयो । मन्त्री गुरुङले विविधताभित्र एकता कायमगर्ने गरी आफ्ना विषयवस्तु चयन गर्न पिएसबीलाई आग्रह गर्नुभयो ।

विविधताभित्र एकताबद्ध राष्ट्र निर्माणका लागि पिएसबीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउँदै मन्त्री गुरुङले पिएसबीले अब सत्ताको तावेदारी नगरी जनताको सूचनाको हकको प्रत्याभू गर्दै समाज र राष्ट्रप्रतिको दायित्व पूरा गर्नुपर्नेमा जोड दिनुभयो । पिएसबीले सहभागितामूलक, समानता र समावेशी अवधारणामा आधारित भएर काम गर्ने विश्वास पनि व्यक्त गर्नुभयो ।

मन्त्री गुरुङले विकट ग्रामीण भेगका जनताको आवाज पिएसबीले बोल्नुपर्ने बताउनुभयो । लोकतन्त्रको विगुल फुकेको रेडियो नेपाल र नेपाल टेलिभिजन एकीकृत पिएसबी प्रारुपमा आइपुग्दा यसको कार्यशैली समयानुकुल परिमार्जन गर्नुपर्छ भन्नुभयो । पिएसबीले सुशासनका लागि सरकारलाई झक्झक्याउनुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

बहुभाषी, बहुसांस्कृतिक, बहुजातीय हाम्रो समाजमा सबैका भावन समेट्ने उहाँले सुझाउनुभयो । “अब दैलेखमा बस्ने राउटे देखि तराईमा बस्ने मधेसका सबै जनताले रेडियो सुन्ने र टेलिभिजन हेर्ने अवसर पाउनुपर्छ”, सरकारका प्रवक्ता गुरुङले भन्नुभयो,“अनि मात्रै यो सार्वजनिक सेवा प्रशारणको सार्थकता रहन्छ ।” उहाँले जनतालाई सहि सूचता दिने र सरकारको तथ्यपक आलोचना गर्ने बानीको विकास गर्न सुझाव दिनुभएको थियो ।

Facebook Comments