विद्यालयमा प्राविधिक र व्यावहारिक सीप सिकाउन आवश्यक : उपराष्ट्रपति यादव
काठमाण्डू, २०८१ माघ १ गते मंगलबार । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सामुदायिक विद्यालयले शैक्षिक ज्ञानका साथमा प्राविधिक र व्यावहारिक सीप सिकाउन आवश्यक भएको बताउनुभएको छ ।
चन्द्रागिरि नगरपालिका–१२ स्थित ‘बहुप्राविधिक शिक्षालय भवन’को आज उद्घाटन गर्नुहुँदै उहाँले बालबालिकाले विद्यालय शिक्षामा प्राप्त गरेका प्राविधिक र व्यवहारिक सीपले उनीहरुलाई स्वरोजगार र आत्मनिर्भर बन्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उपराष्ट्रपति यादवले भन्नुभयो, “सबै वर्गका बालबालिकालाई समान अवसर र स्रोत उपलब्ध गराउनुको साथै सामुदायिक विद्यालयको शैक्षकस्तरलाई माथि उठाउन सामुहिक प्रयत्नको खाँचो छ ।” माध्यमिक शिक्षा परीक्षा (एसइई)मा देशभरका सामुदायिक विद्यालयमा बलम्बु माध्यमिक विद्यालयले मानक कायम गरेको उल्लेख गर्दै उहाँले आगामी दिनमा उक्त मानक कायम राख्न सुझाव दिनुभयो ।
दक्षिण कोरियाको ड्रिम सेयरिङ फाउन्डेशनको आर्थिक सहयोगमा चन्द्रागिरि नगरपालिकाले उक्त विद्यालयमा अत्याधुनिक प्रयोगशालासहित बहुप्राविधिक शिक्षालय तयार गरेको छ । यसका लागि दुई तले भवन र चार प्रयोगशाला बनाउन रु दुई करोड ५० लाख खर्च भएको जनाइएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक शिक्षा परिषद् (सिटिइभिटी) अन्तर्गतको पाठ्यक्रममा आधारित ब्युटिसियन, इलेक्ट्रिसियन, मोटरसाइकल तथा मोबाइल मर्मत गरी चार विधामा स्नातक तह बराबरको बहुप्राविधिक शिक्षालयमा सीप सिकाइने छ ।
राससका अनुसार बलम्बु माध्यमिक विद्यालयमा साधारणतर्फ कक्षा ९ देखि १२ मा अध्ययनरत विद्यार्थीले आफ्नो रुचिको ती विधामध्ये एक विधामा अध्ययन गर्न सक्ने छन् । उनीहरुले कक्षा १२ उत्तीर्ण हुँदा ती चार विधामा स्नातक तह बराबरको सीप पूरा गर्न सक्ने जनाइएको छ ।
कार्यक्रममा पूर्वशिक्षा तथा विज्ञान प्रविधिमन्त्री तथा सांसद कृष्णगोपाल श्रेष्ठले हरेक सामुदायिक विद्यालयमा प्रविधिमा आधारित सीप कक्षा सञ्चालन गर्न जरुरी रहेको चर्चा गर्नुभयो । उहाँले यस्ता सीपमुलक कक्षाले स्वरोजगार बन्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरीले सामुदायिक विद्यालयले बालबालिकालाई प्रदान गर्ने सैद्धान्तिक ज्ञानसँग प्राविधिक सीपलाई जोड्न बहुप्राविधिक शिक्षालयले सहयोग पुग्ने बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले स्वदशमै स्वरोजगार सिर्जना गर्न सामुदायिक विद्यालयमा हुने शैक्षिक ज्ञानसँगै प्राविधिक सीपले सहयोग पु-याउने उल्लेख गर्नुभयो ।
शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख सुजनराज खनालले विद्यार्थीलाई प्राविधिक शिक्षाको सैद्धान्तिक र प्रयोगात्मक ज्ञान हुँदा बेरोजगारीको अन्त्य गर्न सहयोग पुग्ने बताउनुभयो ।
बलम्बु माध्यामिक विद्यालयका प्रधानाध्यापक सुमन रावतले भन्नुभयो, “कक्षा नौदेखि प्राविधिक शिक्षा पढ्न थालेको विद्यार्थीले कक्षा १२ कक्षा पास गर्दा शैक्षिक प्रमाणपत्र र प्राविधिक शिक्षा दुवैको ज्ञान प्राप्त गर्नेछन् ।”
ड्रिम सेयरिङ फाउन्डेशन कोरियाका अध्यक्ष सि विनले आगामी दिनमा प्राविधिक शिक्षामा सहयोग जारी राख्ने प्रतिबद्धता जनाउनुभयो ।