Fri. Apr 19th, 2024

फ्रेन्डसिप फोरम फर नेप्लिज जर्नालिष्टद्वारा वेभ अन्तरक्रिया सम्पन्न

काठमाडौं, २०७७ भदौं ८ गते सोमबार

फ्रेन्डसिप फोरम फर नेप्लिज जर्नालिष्ट(FFNJ)ले मास मिडिया, वैकल्पिक मिडिया र जनपक्षीय धार विषयक वेभ अन्तरक्रिया सम्पन्न गरेको छ । आईतबार बेलुकी सम्पन्न सो अन्तरक्रियामा लेखक तथा राजनीतिक विश्लेषक विश्व भक्त दुलाल (आहुती) र वरिष्ठ पत्रकार नरेन्द्रजंग पिटरको जोडदार प्रस्तुती रहेको थियो ।

अन्तरक्रिया कार्यक्रममा देश तथा विदेशबाट करिब ३० जना पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दैै वरिष्ठ पत्रकार नरेन्द्रजंग पिटरले आज सूचनाहरु आपसमा लडिरहेको अवस्था विद्यमान भए हामीले संकलन गर्न र व्यवस्थापन गर्न नसकिरहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘हामी आज मनोयुद्धलाई झेल्न सकिरहेका छैनौं ।’ पत्रकारहरुमा प्रश्न गर्न सक्ने सामथ्र्य पनि घट्दै गएको उहाँले बताउनु भयो । जनपक्षीय मिडिया अथवा जनताको मिडिया बनाउन पत्रकारहरुले आलोचनात्मक चेत राख्नु आवश्यक भएको उहाँले बताउनु भयो । त्यसैले पत्रकारिता गर्दा अपनाउँदै आइएको, प्रयोग गरिँदै आएको 5W 1H मध्ये किन र कसरी भन्ने प्रश्न हराई सकेको उहाँको भनाई छ । पिटरले भन्नुभयोे, ‘त्यसैले पत्रकारिता गर्नेले किन र कसरी खोज्न आवश्यक छ ।’ ‘आज जनपक्षिय पत्रकारितालाई पनि राजनीतिक धारले पेल्दै लगेको छ’ उहाँले अगाडि भन्नुभयोे, ‘त्यस्तो हुनुहुन्न । किनकी राजनीति र पत्रकारिता फरक कुरा हो ।’ राजनीति र पत्रकारिताबीचको भेद छुट्याउन सक्नुपर्ने उहाँको भनाई थियो ।

कार्यक्रमका अर्का वक्ता तथा राजनीतिक विश्लेषक विश्वभक्त दुलाल (आहुति) ले जनपक्षीय पत्रकारिताको नाममा पार्टीको पक्षपोषण गरिरहेको बताउनु भयो । ‘पार्टी पक्षीय र जनपक्षीय पत्रकारिता एउटै होइन’, उहाँले उदाहरण दिँदै भन्नुभयोे, ‘एउटा कविलाई पार्टीको मात्र कविता लेख्न भनियो भने त्यो कवि होइन ऊ पार्टीको पिछलग्गु हो ।’

जनपक्षीय धारले पूँजीवादको विरोध मात्रै गर्ने गरेको उहाँले बताउनु भयो । उहाँले भन्नुभयो, ‘हामी पूँजिवादले यसो गरे, उसो गरे मात्र भन्छौँ । तर त्यसका विरुद्ध योजना बनाउँदैनौं । समस्या यहिनेर छ ।’

अहिले सामाजिक सञ्जाल सञ्चारको वैकल्पिक धारको रुपमा आएकोले यसलाई लोकतन्त्रको महान विस्तार मान्नु पर्ने उहाँले बताउनु भयो । तर यसको सही प्रयोगमा हामी सचेत हुनुपर्ने उहाँको भनाई छ । प्रविधिलाई प्रयोग गर्नै नजानेर पनि हामी पछिपरिरहेको उहाँको भनाई थियो । अहिलेको विधिलाई प्रयोग गरेर अधिकतम् फाइदा लिनु पर्ने उहाँले बताउनु भयो ।

जनपक्षीय नारा बोकेर हामी पूँजिपतिकै वरिपरि घुमिरहेको पनि उहाँको आरोप थियो । ‘हामी खाली विज्ञापनको पछि मात्रै कुदिरह्यौं । हुँदा हुँदा पत्रिका जोगाउनकालागि जनपक्षीय पत्रकार पूँजिपतिको दैलोमा पुग्नु पर्ने बाध्यता भयो’ उहाँले मेक्सिकोको उदाहरण दिँदै भन्नुभयो, ‘तर हामीले के बुझ्नु महत्वपूर्ण छ भने, मेक्सिकोमा एउटा यस्तो पत्रिका छ, जसमा एउटा पनि विज्ञापन छैन । तर त्यो पत्रिका मेक्सिकोमा धेरै बिक्री हुने पत्रिका मध्येको दोस्रो स्थानमा पर्दछ ।’ विज्ञापन भन्दा पनि जनपक्षीय विषयवस्तुमा केन्द्रित भएर पत्रकारिता गर्नुपर्ने उहाँको भनाई थियो ।

Facebook Comments