Fri. Apr 26th, 2024

पचास हजार बोरा मल भिजेर नष्ट, भन्सार जाँचपास भएन

काठमाडौं, २०७७ भदौं ९ गते मंगलबार

वीरगञ्जको सिर्सिया सुख्खा बन्दरगाह (ड्राईपोर्ट)ले साल्ट ट्रेडिङ कर्पोरेसनले विदेशबाट आयात गरेको ५० हजार बोरा डिएपी मल जाँचपास नगर्ने भएको छ । भारतको कोलकत्ता बन्दरगाहबाट रेल मार्ग हुँदै वीरगञ्जको सिर्सिया सुख्खा बन्दरगाह (ड्राईपोर्ट) यार्डमा शनिबार बेलुकी आइपुगेको आपूर्तिकर्ता स्वीस सिङ्गापुरमार्फत साल्ट ट्रेडिङ कर्पोरेसनले आपूर्ति गरेको ५० हजार बोरा डिएपी मल भिजेर जाँचपास गर्न अयोग्य रहेको भनी सुख्खा बन्दरगाह (ड्राईपोर्ट) भन्सारले जाँचपास नगरेको हो ।

साल्ट ट्रेडिङ कर्पोरेसनको वीरगञ्जस्थित गोदाममा ल्याउनका लागि सोमबार करिब १५ वटा ट्रकमा लोड गरिएको डिएपी मल भन्सारले जाँचपास नगरेपछि मङ्गलबार पुनः सुख्खा बन्दरगाह (ड्राईपोर्ट) को यार्डमा रहेको गोदाममा अनलोड गरिएको छ ।

सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठले भिजेर बिग्रिएको मल कुनै पनि हालतमा भन्सार जाँचपास नगरिने प्रतिक्रिया दिनुभयो ।
अयोग्य कुनै पनि मालवस्तुको भन्सार जाँचपास गर्न नमिल्ने प्रावधान रहेकाले भिजेर बिग्रिएको अवस्थामा रहेको उक्त डिएमी मल कुनै पनि हालतमा भन्सार जाँचपास नगरिने उहाँले बताउनुभयो ।

‘पानीले भिजेर खराब भएको मल जाँचपास नगर्नु भन्ने निर्देशन भइसकेको छ, हामीले जाँचपास गर्दैनाैँ ।’ सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत श्रेष्ठले गोरखापत्रलाई भन्नुभयो । साल्ट ट्रेडिङ कर्पोरेसन वीरगञ्जका प्रमुख आमोद लामिछानेले ४३ वटा बेगन (रेलको डिब्बा ) मा रहेको ५० हजार बोरा मल आइतबार अनलोड गरेर सुख्खा बन्दरगाहको गोदाममा राख्ने क्रममा भिजेको अवस्थामा पाइएको जानकारी दिनुभयो । पचास हजार बोरा डिएपी मलमध्ये करिब ४० हजार बोरा मल पानीले भिजेर बिग्रिएको अवस्थामा रहेको उहाँले गोरखापत्रलाई बताउनुभयो ।

साल्ट ट्रेडिङ कर्पोरेसन वीरगञ्जका प्रमुख लामिछानेले सिङ्गापुरबाट पानीजहाजमार्फत् भारतको कोलकत्ता बन्दरगाहमा ल्याएर राखिएको मल करिब एक डेढ महिना पहिले बङ्गालको खाडीमा आएको ‘अम्फन’ आँधीका कारण कोलकत्ता बन्दरगाहमा नै भिजेको बताउनुभयो । करिब ढेड महिनापहिले बङ्गालको खाडीमा आएको ‘अम्फन’आँधीले मल भिजेको र यस विषयमा आपूर्तिकर्ता स्वीस सिङ्गापुरसँग कुरा भइसकेको बताउँदै साल्ट ट्रेडिङ कर्पोरेसन वीरगञ्जका प्रमुख लामिछानेले भन्नुभयो ‘नभिजेको फ्रेस मल मात्रै बुझ्छौँ, भिजेको र खराब बोराको मल आपूर्तिकर्ताले नै लग्छ । डलरमा एलसी (प्रतीतपत्र) खोलेर ल्याइएकाले नेपाल राष्ट्र बैङ्कको नियमअनुसार नेपालमा मालसामान आइपुगेको देखाउनुपर्ने भएकाले त्यसलाई बीचबाटोबाटै फर्काइएन । सामान नेपाल आयात भएको देखिएन भने मुद्रा अपचलन गरेको आरोप लाग्छ । त्यसैले भिजेको भए पनि डिएपी मल भित्र्याएका हौँ ।’

साल्ट ट्रेडिङले आयात गरेको डिएपी मल भिजेर बिग्रिएका कारण भन्सार जाँचपास नहुने भएकाले साल्ट ट्रेडिङ कर्पोरेसनलाई करोडौँको घाटा हुने देखिएको छ । साल्ट ट्रेडिङ कर्पोरेसन वीरगञ्जका प्रमुख लामिछानेले अहिले आपूर्तिकर्ताको नै मालवस्तु भएकाले आफूहरूले नलिएसम्म साल्ट ट्रेडिङ कर्पोरेसनको नहुने दाबी गर्नुभयो ।

‘कागजमा मात्र हाम्रो भयो, मालसामान हस्तान्तरण नगरुन्जेल आपूर्तिकर्ताकै हुन्छ । उसले अब के गर्छ, हेरौँ ।’ साल्ट ट्रेडिङ कर्पोरेसन वीरगञ्जका प्रमुख लामिछानेले भन्नुभयो । भिजेको अवस्थामा आएको डिएपी मलको प्रति बोरामा नेपाल सरकारको १३२ रुपियाँ २० पैसा अनुदान रकम लगानी परेकाे छ । गोरखापत्र अनलाईनबाट

Facebook Comments