Fri. Apr 26th, 2024

आज हरितालिका तीज, कोरोना भाइरसको कारण हिन्दू नारीहरु महादेवको घरमै पूजा गर्दै

काठमाडौं, २०७७ भदौं ५ गते शुक्रबार

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरू देवादि देव महादेवको पूजा आराधना गरी मनाउँदैछन् ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् । तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसँग विवाह गरिदिन खोजेपछि साथीलाई आफ्नो समस्या सुनाइन् ।

सखी पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन् ।

यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका तीजको व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत रहेको छ ।

संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । हरितालिका तीजका सन्दर्भमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ ।

सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्री महादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वासमा नारीहरू व्रत बस्ने गरेका गर्दछन् ।

यो व्रत सक्नेले निराहार बस्ने भएकाले बिहीबार व्रतालुहरुले मीठा मीठा परिकार दरका रुपमा खाई आजको व्रतका लागि पूर्व तयारी समेत गर्छन् । विशेषगरी माइती एवम् दाजुभाइले छोरी, चेली, दिदी बहिनीलाई बोलाई दर खुवाउने गर्दछन् । दर दुई भाग रात हुँदै खाइसक्नुपर्ने शास्त्रीय विधान छ ।

महिलाहरुले वर्षदिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रुपमा समेत उपयोग गर्ने गरेका छन् । तीजको अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाहरुले सार्वजनिक गर्दछन् ।

पछिल्लो समयमा तीजका नाममा उच्छृङ्खलता र तडक भडक आएको छ । एक महिना अघिदेखि दर खाने, गरगहना एवम् फेसन प्रदर्शन गर्नेजस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृतिका रुपमा लैजान खोजेको संस्कृतिविद् एवं पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव डा गोविन्द टण्डन बताउनुहुन्छ ।

यस्ता गतिविधिले नहुनेलाई खिन्न बनाउने भएकाले पनि विकृति रोकिनुपर्नेमा पनि संस्कृतिविद् एवं धर्मशास्त्रीहरुले जोड दिएका छन् ।

कोरोनाले कालो छाँयामा तिज

विगतका वर्षहरुमा तिजको दिन पशुपतिनाथ लगायत देशका विभिन्न शिव मन्दिरहरुमा विहान सबेरैदेखि पूजाआजा गर्नेको भीड लाग्ने गरेको भए पनि कोरोना भाइरसको महामारीको कारण यस पटकको तिज घरमै बसेर मनाउनु पर्ने बाध्यता रहेको छ । कोरोनाकै कारण आज पशुपतिनाथ मन्दिर परिसर सुनसान देखिएकोे छ भने काठमाडौं उपत्यका बाहिरका अधिकाँश जिल्लाहरुमा कोरोनाको कारण निषेघआज्ञा जारी गरिएको छ ।
कोरोना भाइरसले हालसम्म विश्वभरीका झण्डै ८ लाख मानिसहरुको मृत्यु भैसकेको छ ।

Facebook Comments