Fri. Apr 19th, 2024

पूर्व सांसद उमा भुजेल र सुमनसिंह पौडेललाई अदालत परिसरबाटै पुनः गिरफ्तार

काठमाडौं, २०७७ भदौं २ गते मंगलबार

नेपाल कम्युनिष्ट पार्टी विप्लव समुहका पोलिटब्यूरो सदस्य एवम् मेची कोशी कमाण्ड ईन्चार्ज तथा पूर्व सांसद उमा भुजेललाई प्रहरीले सुनसरी जिल्ला अदालतको आदेशबाट रिहा भए लगत्तै अदालत परिसरबाटै मंगलबार साँझ गिरफ्तार गरेको छ । भुजेलसँगै सोही पार्टीका झापा जिल्ला ईन्चार्ज सुमन सिंह पौडेललाई पनि पुनः पक्राउ गरिएको छ ।

नेता भुजेल र पौडेललाई राज्य विरुद्धको कसुर, हातहतियार तथा खरखजना र संगठित अपराध निवारण ऐन अन्तर्गतको कसुर मुद्धामा सुनसरी जिल्ला अदालतले मुद्धाको पुर्पक्षको क्रममा मंगलवार सादा तारिखमा रिहा गर्ने आदेश जारी गरे लगत्तै अदालत परिसरबाटै गिरफ्तार गरेको हो ।

सुनसरी जिल्ला अदालतमा मंगलबार भुजेल र पौडेल

माओवादी जनयुद्धको क्रममा गोरखा जेल ब्रेक गरि चर्चा कमाउनु भएका नेता भुजेल र पौडेललाई २०७६ साल पुस १२ गते सुनसरी जिल्लाको चक्रघट्टी बजारबाट प्रहरीले पक्राउ गरेको थियो । त्यसयता भुजेललाई प्रहरीले विभिन्न मुद्धामा अनुसन्धान गर्न भनि सुनसरी, झापा, धनुषा, कैलाली, गोर्खा, काठमाडौं, ललितपुर, भोजपुर, संखुवासभा हुँदै पुनः सुनसरी पुर्याएको थियो । त्यसैगरी नेता सुमन सिंह पौडेलाई विभिन्न मुद्धामा अनुसन्धानको लागि झापा, सुनसरी, संखुवासभा हुदै पुनः सुनसरी पुर्याएको थियो ।

पक्राउ पुर्जी विनै गिरफ्तार गरिएका भुजेल र पौडेललाई अहिले कुन कसुरमा कहाँ लगिएको छ भन्ने बारेमा कुनै जानकारी नभएको निजहरुका कानून व्यवसायी अधिवक्ता कला त्रितालले भ्वाईस अफ काठमाडौंलाई बताउनु भयो ।

अधिवक्ता त्रितालले संविधानले प्रदान गरेको मौलिक हक विपरित पक्राउ पूर्जी समेत नदिई गिरफ्तार गर्नु मानव अधिकार र कानूनी राज्यको उपहार भएको बताउनु भयो । साथै त्रितालले भन्नुभयो भुजेल र पौडेललाई गिरफ्तार गर्ने प्रहरीकोे यस्तो व्यवहारले अदालतको आदेशको धज्जी उडाएको छ ।

भुजेल र पौडेलका अर्का कानून व्यवसायी अधिवक्ता विनोद तिमल्सिनाले न्यायिक निकायभित्र र बाहिर दर्जनौंको संख्यामा सुरक्षाकर्मी परिचालन गरि विना पुर्जी नागरिकलाई गिरफ्तार गर्ने राज्यको कदमले अदालतको मानहानी गरेको बताउनु भयो ।

Facebook Comments